close

यो वर्ष पनि जुम्लामा जात्रा नलाग्ने

यो वर्ष पनि जुम्लामा जात्रा नलाग्ने

Trulli
ADVERTISEMENT

जुम्ला- कोरोना महामारीका कारण जुम्लामा धार्मिक मेला पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रण गर्न सबै प्रकारका धार्मिक मेला, जात्रा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । 

 

कोरोना संक्रमणका कारण कर्णालीको सबैभन्दा लामो जात्रा गत वर्ष पनि जुम्लामा हुन सकेन । यो वर्ष पनि जात्रा नलाग्ने निर्णय भएको छ । कोरोनाका कारण धार्मिक आस्था धरापमा पर्न थालेको जुम्लाबासी बताउँछन् ।

 

यहाँ प्राचीन कालदेखि गाईजात्रादेखि कृष्णाष्टमीसम्म जात्रा लाग्ने गर्दथ्यो तर गत वर्षबाट कोरोना संक्रमणका कारण जात्रा प्रभावित हुँदै आएको छ । यो वर्ष ७ भदौदेखि जात्रा सुरु हुने तिथिमिति छ ।

 

कोरोना संक्रमण फेरि बढ्दै गएको र जात्रासँगै धार्मिक मेला महोत्सवले संक्रमण बढाउने भएकाले पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन् ।

 

उनले भनिन्, ‘कोरोना संक्रमण बढ्दै गइरहेको समय तेस्रो लहरको कोरोना सर्न सक्ने सम्भावना भएकाले धार्मिक मेला बन्द गर्ने निर्णय भयो । यो निर्णय जुम्लाबासीको स्वास्थ्यलाई लक्षित गरेर लिएका हौँ ।’ धार्मिक मेला गर्दा भीडभाड बढी हुने हुँदा जात्रामा रोक लगाइएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निष्कर्ष छ ।

 

बैठकले अहिले भइरहेको बिहान ६ देखि दिउँसो ४ बजेसम्म बजार खोल्ने र ४ बजेपछि निषेधाज्ञा गर्ने कार्यलाई निरन्तरता दिएको छ । यो निर्णय अव्यावहारिक भएको स्थानीय बताउँछन् । जतिसुकै समय कोरोना सर्न सक्ने भएकोले ४ बजे पनि निषेधाज्ञा गर्ने निर्णय अवैज्ञानिक भएको उनीहरूको तर्क छ ।

 

प्रशासन कार्यालय जुम्लाले दुई सातासम्म निषेधाज्ञा थप गरेको छ । भदौमा यहाँ धार्मिक मेला धेरै लाग्छन् । ‘भदौ कोरोनाको हिसाबले निकै जोखिमपूर्ण महिना हो । रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ’, प्रमुख जिल्ला अधिकारी प्रसाईंले भनिन्, ‘जुम्लाका ८ वटै स्थानीय तहले गाउँघरमा हुने भीडभाडलाई नियन्त्रण गर्न सचेतनाका कार्यक्रममा जोड दिनुपर्छ । यो प्रतिबद्धता स्थानीय तहका प्रमुखले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा गरेका छन् ।’

 

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सदरमुकाम केन्द्रित निषेधाज्ञा गरे पनि गाउँमा सबै खुला छ । राजनीतिक दल पार्टी संगठन विस्तार, भेला, सम्मेलन, बैठक गरिरहेका छन् । गत वर्ष तीर्थयात्रामा समेत रोक लगाइएको थियो । तर, यो वर्ष कर्णालीका विभिन्न स्थानमा जाने तीर्थयात्रामा रोक लगाइएको छैन ।