close

सापारु : स्वर्ग पुर्‍याउने प्रयत्न

सापारु : स्वर्ग पुर्‍याउने प्रयत्न

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरमा मृतकको सम्झनामा आज गाईजात्रा (सापारु) मनाइदै छ । वर्षभरी मृत्यु भएका व्यक्तिका स्मृतीमा गाईजात्रा मनाइने गरिन्छ ।

 

सापारुमा मृतकको घरबाट गाई,  ताहासाँ, ताहामचा, माटोको साँ वा साना नानीहरुलाई महादेव पार्वती बनाइन्छ । यसरी बनाइएका प्रतीकलाई नगरभित्र परिक्रमा गराइन्छ । यसो गरेमा मृत्यु भएका आफन्त गाईको पुच्छर समातेर स्वर्गमा जाने मान्यता नेवारी समुदायमा छ । 

 

सापारुमा नेपाली भाषामा साँ भनेको गाई र पारु भनेको प्रतिपदा हो । भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास भएर नेवारहरूले यो पर्व मनाउन थालेको संस्कृतविद् ओम धौभडेल बताउँछन् । 

 

सुरुमा यसलाई गाई यात्राको रुपमा चिनिन्थ्यो । मध्यसमयमा यात्रामा बाजागाजा थपिन थालपछि गाईजात्रा भनिएको उनले बताए । 

 

आनन्ददेवदेखि यक्ष मल्लसम्मको समयको ३६७ वर्षसम्म नेपालको राजधानी भक्तपुर थियो । यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा भिन्दाभिन्दै संस्कृति विकास भयो । अहिलेसम्म पनि यी तीन ठाउँको नेवारी भाषा–संस्कृतिमा सामान्य अन्तर पाइन्छ । भक्तपुरमा बाँस लगायत आवश्यक सामग्री पाउने भएकोले यहाँको गाइजात्रा फरक हुने गरेका संस्कृतविद् धौभडेल बताउँछन् । 

 

गाइजात्रालाई मृतकको संख्या संकलन गर्ने आधारको रुपमा समेत लिन सकिने उनी बताउँछन् । नेवार समुदायमा मृत्यु भएका व्यक्तिको स्मृतीमा भक्तपुर नगरमा गाई परिक्रमा गराइन्छ । यसले वर्षभरी कतिजनाको मृत्यु भएछ भन्ने तथ्यांक लिन सकिने उनले बताए । 

 

गुन्हीपुन्हीमा तलेजु भगवानको मन्दिरबाट सुरु हुने गाईजात्रा भाद्र कृष्ण अष्टमीसम्म चल्छ । यसरी गाईजात्रा भक्तपुरमा ८ दिन ९ रात चल्ने गर्दछ । जात्राभरी बाजागाजासँगै नाच पनि समावेश गरिएको हुन्छ । तर, कोरोना महामारी नियन्त्रणका लागि यस वर्ष भक्तपुर नगरपालिकाले औपचारिक रुपमा जात्रा सिमित गर्न निर्देशन दिएको छ ।