close

पहिरोले थुनिएको सानिगाडको पानी निकास गर्न सेना परिचालन

पहिरोले थुनिएको सानिगाडको पानी निकास गर्न सेना परिचालन

Trulli
ADVERTISEMENT

बझाङ–बुधबारदेखि परेको निरन्तर वर्षाका कारण आएको पहिरोले सानिगाड थुनिएपछि नेपाली सेना परिचालन गरिएको छ। बझाङको बुंगल नगरपालिका वडा नम्बर ७ मा पहिरो गई शुक्रबार दिउँसो सानिगाड थुनिएपछि दुई घर पुरिएका थिए ।

 

सानीगाड खोलाको माथिबाट आएको पहिरोले सानिगाड थुनिएपछि नदी ताल बनेको छ । शनिबार बिहान सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले थुनिएको नदीको बाँधलाई भत्काउन विस्फोट गर्ने बताइएको छ । 

 

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘कालंगा हाइड्रोको सहकार्यमा सेना परिचालन गरिएको छ । सेनाले सानिगाड र कालंगा नदी आसपासका जोखिम बस्तीमा समेत उद्धार गर्नेछ ।’

 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । 

 

घर पुरिँदा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, सात वटा बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाईका दुई गाई पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको समेत उनले जानकारी दिए ।

 

कालंगा र सानिगाड आसपासका दुई दर्जन बढी गाउँ जोखिममा परेका छन् । नदीले बुंगल क्षेत्रका गाडको आसपास क्षेत्रमा भएका सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ भने हजारौँ रोपनी खेतीयोग्य जमिन जोखिममा परेका छन् ।

 

बुंगल नगरपालिका प्रमुख धनबहादुर विष्टले सानिगाड तथा कालंगागाड आसपासका बस्तीका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । नदीको बहाव बढ्दै गएकाले आसपासका बस्तीका वासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।