close

महोत्तरीमा बाढीको वितण्डा, बगर बन्यो उर्बर भूमि

महोत्तरीमा बाढीको वितण्डा, बगर बन्यो उर्बर भूमि

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको बर्दिबासका विनोद पौडेललाई यो वर्ष बर्खा सकिएजस्तै लागेको थियो । तर, ३ दिनदेखि देशैभर निरन्तरको वर्षाले उनलाई रातभरि निद्रै लाग्दैन । 

 

पानी अलिकति रहनेबित्तिक्कै उनी रातु नदीको उर्लिरहेको बहाव हेर्न दौडिन्छन् । त्यहाँ पुगेपछि उनलाई झनै अत्यास लाग्छ । ‘पानीको सतह बढिरहेको छ, वरपरका उब्जाउ जमिन कटान भइरहेको छ ।’

 

अहिलेसम्मको वर्षाले पौडेलका छिमेकीको रातु नदीले करिब ८ कठ्ठा जमिन कटान गरेर बगर बनाइसकेको छ । ‘यही गतिमा अझै दुई–तीन दिन वर्षा जारी रहे कैयौँ किसानको उर्बर जमिन बगरमा परिणत भएको हेर्ने दिन नजिक आउँदै छ’, उनी भन्छन् ।

 

महोत्तरीका विभिन्न ठाउँमा उर्लिरहेको पानीको बहावले जिल्लावासीले अहिले ठूलो क्षति बेहोर्नुपरेको छ । नगरपालिकामा मात्र रातु नदीमा आएको बाढीले करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद् व्यवस्थापनले जनाएको छ । नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ ।

 

बर्सेनि सोही ठाउँमा बाँध भत्किँदा नागरिक बाढीको चपेटामा पर्दा पनि स्थानीय सरकारको प्रतिकार्यात्मक व्यवस्थापनमा कुनै योजना बन्न नसक्दा बल्वा नगरपालिकामा डुबानको समस्या बल्झिरेको छ ।

 

अहिले डुबानबाट पीडितलाई नागरिक आफैं जुटेर स्थानीयकै पहलमा उद्दार तथा सहयोग भइरहेको स्थानीय वसन्तराज साहले जानकारी दिए । ‘हामी बस्ने ठाउँमा बाढी र डुबानले समस्या पारेपछि कैयौँपल्ट नगरप्रमुखलाई जानकारी गराउने प्रयास नगरेका पनि होइनौँ तर उहाँले फोनै उठाउनुभएन’, उनले भने ।

 

महोत्तरीमा रातु, मराहा र जंगाहा नदीमा पानीको बहाव अहिले झनै बढेको छ । तटीय क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने तयारी भइरहेको विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

 

‘सर्वसाधारणको विपद्सँग नजिक छौँ । आवश्यक परे बस्ती स्थानान्तरण गर्नेसम्मको तयारी छ । यसका लागि पालिका प्रमुखहरूसँग निरन्तर सम्पर्क गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

 

पालिका प्रमुखहरूले पनि सम्भावित जोखिम प्रतिकार्यका लागि सतर्क रहेको बताएका छन् । अविरल वर्षाका कारण गौशाला नगरपालिकाका मुसहर बस्तीका मुसहरका स–साना नानीबाबुलाई बचाउन  समस्या बनिरहेको छ ।

 

‘सरकारले घर बनाइदेला र नयाँ घरमा बसौँला भन्ने आशमा अस्थायी टहरा बनाएर बसेको ३ वर्ष भयो । केही हुन सकेको छैन । अहिले टहराबाट पानी चुहिएर साना नानीबाबुलाई ठूलो समस्या भएको छ’, मुसहर बस्तीका सुनील सदाले भने । चिसोकै कारण अहिले मुसहर बस्तीका बालबालिका बिरामी अवस्थामा छन् भने बस्तिभरि ज्वरो, खोकीजस्ता रोग प्रकोप बढ्दै गएको छ ।

 

बाढी र डुबानले अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि कैयौँ घरपरिवार घरबारविहीन हुन सक्ने अवस्थामा पुगेका छन् । बल्वाको तिलगडमा यतिबेला बस्ती जलाम्य अवस्थामा छन् । कैयौँ घर पुरिएका छन् भने अन्नबाली तथा जमिन कटानले स्थानीय विस्थापित हुन सक्ने अवस्था सिर्जना भएको छ ।

 

बर्दिबास नगरपालिकाको किसाननगर, पथलैयाजस्ता ठाउँमा पनि स्थानीय रातभरि जागा बस्न थालेका छन् । रातु नदीको उर्लंदो भेलले वरपरका जमिन कटान गर्दै दायरा फराकिलो बनाएको छ ।

 

खेतबारीमा उत्पादित कतिपय वस्तु नष्ट भएका छन् भने कैयौँ कठ्ठा जमिनसमेत बगरमा परिणत भएको छ । नदी बस्तीमै पस्न सक्ने भन्दै स्थानीय संशकित बनेका छन् ।

 

तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाइ जिल्ला प्रशासन कार्यालयले सतर्क रहन निर्देशन दिएको छ । जोखिम प्रतिकार्यका लागि जिल्लामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासमेत तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।