close

गृहमन्त्रीसहितको जम्बो टोली सप्तकोसी कटानको स्थलगत निरीक्षणमा

गृहमन्त्रीसहितको जम्बो टोली सप्तकोसी कटानको स्थलगत निरीक्षणमा

Trulli
ADVERTISEMENT

उदयपुर– गृहमन्त्री बालकृष्ण खाँणसहितको टोली उदयपुर र सुनसरी हुँदै वहने सप्तकोसी नदीले ९ दिनअघि धार परिवर्तन गरी उदयपुरतर्फ कटान गरेको लाहुरे खोंचको अवस्था बुझ्न स्थलगत निरीक्षणका लागि शनिबार उदयपुर आएको छ । 


गृहमन्त्री खाँण दुवै जिल्लाको सीमा भएर वहने सप्तकोसीमा आएको बाढी बेलका नगरपालिका वडा नम्बर ८ लाहुरे खोंचमा ९ दिनअघि ६ सय मिटर कटान गरी गाउँ पस्न लागेको ठाउँको निरीक्षण गर्न आएका हुन् ।


गृहमन्त्री खाँड, पूर्वमन्त्रीद्वय शेरबहादुर तामाङ, मोहनबहादुर बस्नेत, गृह सचिव टेकनाथ पाण्डे, सहसचिव हुमकला पाण्डे, रामप्रसाद घिमिरे, कलम पौडेल, राष्ट्रिय विपद् व्यवस्थापन तथा उद्धार प्राविधिकका प्रमुख अनिल पोखरेल, सिँचाइ विभागका महानिर्देशक, प्राविधिक इन्जिनियरसहितको टोली स्थलगत अनुगमनमा आएको हो । 

 

मन्त्री खाँणले कोसी प्रभावित १५ हजार स्थानीयको अवस्थाबारे स्थलगत अवलोकन गरेको सुरक्षा निकायले जनाएको छ । कोसीटप्पु आसपास बसोबास गरिरहेका झन्डै ४ हजार घरधुरीलाई बाढीले विस्थापित गर्ने खतरा बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले सरकारको ध्यानाकर्षण गराएको थियो । 


नेपाली सेनाको हेलिकोप्टर चढेर आएका गृहमन्त्री खाँणले घटनास्थल निरीक्षणपछि जनप्रतिनिधि, उदयपुर, सप्तरी एवं सुनसरीका प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा अधिकारी र स्थानीयसँग सामूहिक छलफल गरेका थिए । 


प्रदेश प्रहरी प्रमुख, ३ जिल्लाका सुरक्षा निकाय प्रमुख र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको छलछफलमा खाँणले कटान र डुबान रोक्न तत्काल आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सरोकारवालालाई निर्देशन दिए । मन्त्री खाँणसँग स्थानीयले बर्सेनि आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग राखेका थिए । 


स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता मन्त्री खाँणले व्यक्त गरेका थिए । गृहमन्त्री खाँणले सप्तकोसी नदीले धार परिवर्तन गरी बेलका नगरपालिका वडा नम्बर ८ सोमबारेस्थित लाहुरे खोंचमा तीव्र रूपमा कटान स्थलको स्थलगत अवलोकनपछि उच्च जोखिममा रहेका बस्तीको शनिबारै हवाई निरीक्षण गरे । 


उक्त अवसरमा गृहमन्त्री खाँणले तत्काल अल्पकालीन र दीर्घकालीन योजना बनाएर कटान रोकथाम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । कोसी कटान नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताउँदै अल्पकालीन योजना बनाएर तत्काल रोकथाम र दीर्घकालमा कोसी सम्झौतासँग जोडिएकाले दुवै देशको पहलमा कूटनीतिक पहल गरी समस्याको समाधान गर्नेतर्फ सरकार लाग्ने धारणा व्यक्त गरे । ‘तत्काल अल्पकालीन र दीर्घकालिन योजना बनाएर कटान नियन्त्रण गर्छौं । कोसी सम्झौताअनुरूप बाँध निर्माण गर्ने काम भारत सरकारको भएकाले कूटनीतिक पहल गरी योजना निर्माण गरिनेछ’, गृहमन्त्री खाँणले भने । 


उदयपुर र सुनसरी हुँदै वहनदे सप्तकोसी नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिका र वराहक्षेत्र नगरपालिकाका ५ वटा वडाका दर्जन बढी बस्ती उच्च जोखिममा परेका छन् ।


९ दिनअघि आएको सप्तकोसीको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ र वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ उच्च जोखिममा परेका हुन् ।


सप्तकोसी बेलकाको वडा नम्बर लाहुरे खाेंचमा कटान गरी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसीटप्पु आरक्षमा गरी करिब ४ हजार घरपरिवार उच्च जोखिममा परेका हुन् । 


सप्तकोसीले ९ दिनमा ६ सय मिटर कटान गरिसकेको छ । करिब २ सय मिटर कटान गर्न बाँकी छ । २ सय मिटर कटान गरे त्यहाँ बसोबास गर्ने ४ हजार घरपरिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले बताए ।