close

महोत्तरीमा भू–माफियाको खेलोफड्कोले ८५ घरपरिवार बने बेघर

महोत्तरीमा भू–माफियाको खेलोफड्कोले ८५ घरपरिवार बने बेघर

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको बर्दिबास पशुपतिनगरका रामबाबु महतो पुस्तौँदेखि आफूले हकभोग गर्दै आएको जमिनमा एकाएक गाउँकै रामभजन महतोले लालपुर्जा देखाउँदै आफ्नो भएको दाबी गरेपछि छाँगाबाट खसेजस्तै भए । 

 

अहिले आफ्ना बाबुबाजेले पुस्तौँदेखि उपभोग गर्दै आएको करिब ३ कठ्ठा जग्गामा लालपुर्जा देखाउँदै अधिग्रहण गरेको जग्गा फिर्ता दिलाउन महतो विभिन्न सरकारी कार्यालयमा धाइरहेका पनि कुनै सुनुवाइ हुन सकेको छैन ।


उक्त जग्गाबाटै पारिवारिक भरणपोषण गर्दै आएका महतोलाई भएको जग्गासमेत अर्कैले खाइदिएपछि जीविकोपार्जनमा अप्ठेरो परेको छ ।
‘न्यायका लागि धेरै ठाउँ भौतारिए पनि  सुनुवाइ कतैबाट हुन सकेन’, उनले भने ।

 

रामबाबु महतोजस्तो समस्या भंगाहा वडा नम्बर ४ की सीतादेवी साहको पनि छ । पुस्तौँदेखि सोही ठाउँमा बसोबास गर्दै आएकी सीतादेवीको परिवारले करिब २ बिघा जगा हकभोग गर्दै आए पनि अचानक बाहिरबाट आएका मानिसले लालपुर्जा नै देखाएर जग्गा छाड्न ताकेता गरिरहेका छन् ।

 

माथिका घटना प्रतिनिधि मात्र हुन् । रामबाबु र सितादेवीजस्तै भंगाहा नगरपालिका वडा नम्बर ४ मा  पुस्तौँदेखि ऐलानी जग्गा हकभोग गर्दै आएका ६२ घरपरिवार र बर्दिबास नगरपालिकाका २५ घरपरिवार गरी करिब ८७ घरपरिवार भू–माफियाका कारण घर न घाटको बनेका छन् ।

 

५० वर्षदेखि आफ्नो जग्गा भोगचलन गर्दै आएका ८७ घरपरिवारलाई भू–माफिया र सरकारी अधिकारीको मिलोमतोमा अहिले बेघर मात्र हुनुपरेको छैन, बिहान–बेलुका के खाने भन्ने पिरलो थपिएको छ ।

 

यसरी बने बेघर

 

२०५४ मा बनेको भूमि आयोगले लालपुर्जा वितरण गर्ने क्रममा जोताहा किसानलाई स्वामित्व दिनुको सट्टा आफन्त, नातागोता, कर्मचारी र हुनेखानेलाई नै जग्गाको पुर्जा बाँड्दा भू–माफियालाई खेलोफड्को गर्न सहयोग पुगेको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको ठहर छ ।

 

२०५४ मा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्न बनेको भूमि आयोगले वास्तविक पीडितलाई पहिचान गर्न नसक्दा अहिले समस्या सिर्जना भएको मञ्चको बुझाइ छ ।

 

पुस्तौँदेखि हकभोग गर्दै आएको जग्गाभित्रै  अरूकै नाममा लालपुर्जा निकालेर गलत गरिएको भन्दै राष्ट्रिय भूमि अधिकार मञ्च महोत्तरीले २०५४ मा गरेका सम्पूर्ण कार्य खारेजी माग गरेको छ ।

 

भूमि अधिकार मञ्च नेपालले पत्रकार सम्मेलन गरी वीरगञ्ज, पर्सा, भोजपुर, टक्सार, एकडारा, खयरमारा, बथनाहा, जलेश्वर, रघुनाथपुर, सुगालगायतका कर्मचारी र आफन्तलाई कित्ताकाट गरी पुर्जा वितरण गरिएको मञ्चले दाबी गरेको छ ।

 

मालपोत कार्यालय बर्दिबासले २०५४ को आयोगले वितरण गरेको पुर्जाको विवादित अभिलेख ढड्डा जलेश्वरबाट झिकाएर भित्रभित्रै बिक्री वितरण गरिरहेको भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य फौदसिंह स्याङबाको दाबी छ ।

 

अहिले नापी कार्यालयका कर्मचारी तथा महोत्तरीका सञ्जय यादवसँग मात्र धेरै बिघा जग्गा आफ्नो नाममा छ । कतिपय स्थानीयको १५ कठ्ठा जग्गा हँुदा ३ कठ्ठा पनि आफ्नो नाममा नभएको गुनासो गरिररहेका छन् ।

 

महोत्तरीमा यसअघि पनि भू–माफियाको चलखेल बढ्दै गएको देखिएको छ । वन अतिक्रमण गर्नेदेखि लिएर फडानी गरेर आफ्नो नाममा बनाउनेसम्मका काम भइरहे पनि सरोकारवाला निकायले कारबाही गर्न सकेको छैन ।

 

१ वर्षअघि मात्र भू–माफियाले सामुदायिक वनको नाममा रहेको बर्दिबासको रम्तेल डाँडा फडानी गरी करिब २ बिघा जग्गा लालपुर्जा देखाउँदै हस्तक्षेप गर्न खोजेका थिए ।