close

विपद् व्यवस्थापनमा बुटवल उपमहानगर : विस्थापितलाई पुनःस्थापन गरिँदै 

विपद् व्यवस्थापनमा बुटवल उपमहानगर : विस्थापितलाई पुनःस्थापन गरिँदै 

Trulli
ADVERTISEMENT

रूपन्देही–बुटवल उपमहानगरले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित पीडितलाई अस्थायी आवासका लागि घर बहाल खर्च रकम सहयोग गर्ने भएको छ । 
हालैको अविरल वर्षासँगै आएको बाढीपहिरोले घर भत्किएपछि विद्यालयमा आश्रय लिइरहेका पीडितलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहतस्वरूप रकम उपलब्ध गराउने भएको प्रमुख शिवराज सुवेदीले वताए । 

 

स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगर प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्र्थापनलाई सहकार्यमा थप प्रभावकारी बनाउने निर्णय गरेको छ । 

 

बाढीपहिरोले पूर्ण रूपले घर–आवास क्षति भएर विद्यालयमा आश्रय लिई बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट तत्काल स्थानान्तरण गरी अन्यत्र वहालमा बस्न तत्काललाई खर्च रकम सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले जानकारी दिए । 

 

विस्थापितका लागि पुनस्र्थापन गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदनसहित विवरण संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिमार्फत प्रक्रिया अगाडि बढाइनेछ ।

 

बहु–प्रकोपको संकटासन्न अवस्थालाई कम गर्न, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकार र संयन्त्रका बीचमा सहकार्यको खाँचो रहेको बैठकले ठहर गरेको छ । 

 

बुटवल उपमहानगरको तिनाउ दानव नदीमा ठूलो बाढी आई कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा क्षतिको विवरणसहित जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

 


१३ भदौदेखि उपकरणसहितको उपमहानगरको टोली निरन्तर पहिरो सफाइमा

 

यसअघि १३ भदौको वर्षाले बुटवल वडा नम्बर ३ र ४ को ज्योतिनगर, लक्ष्मीनगर चुरे क्षेत्रमा पहिरो गएको थियो । पहिरोले केही घर प्रभावित भएका थिए । सोही दिनदेखि पहिरो प्रभावित क्षेत्रमा लेदो, ढुंगामाटो हटाउने काममा उपकरणसहितको उपमहानगरको टोली खटिएको छ । 

 

नगरस्तरीय सिसिएमसीको निर्णयबमोजिम तत्काल मेसिन/साधन परिचालन गरी पहिरोबाट आएको लेदो, ढुंगा–माटो हटाई सफा गर्ने निर्णय गरेलगत्तै उपकरण लिएर उपमहानगरको टोली त्यस क्षेत्रमा गएको थियो । 

 

स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापनको रकम निकासा गर्न पनि प्रदेश आन्तरिक मामला तथा कानुन मन्त्रालयमा अनुरोध गरेको छ । 
त्यस अवधिको कामको विवरण र बिल भर्पाइलगायत कागजातसहित प्रदेशको आन्तरिक मामला मन्त्रालयमा रकम निकासाका लागि अनुरोध गर्ने निर्णय भएको वातावरण इन्जिनियर योगेश चापागाईंले बताए । 

 

बस्तीमा थुप्रिएको लेदो हटाइने

 

बुटवल वडा नम्बर ३ र ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुंगा–माटोको गेग्रेटोलाई प्राविधिकको विशेष निगरानीमा हटाइने भएको छ । यसका लागि राष्ट्रपति चुरे संरक्षणसंग समन्वय गरिनेछ ।

 

बस्तीका धेरै घरमा क्षति पुर्‍याएको र लेदो, गेग्रेटोसहितको ढुंगा–माटो तत्काल नहटाए थप जोखिम बढाउने भन्दै उपमहानगरले राष्ट्रपति चुरे संरक्षणलाई यथाशीघ्र पहल थाल्न आग्रह गरेको छ । 

 

पहिरो गएको क्षेत्र, प्रभावित क्षेत्र र जोखिमका क्षेत्रमा विज्ञ र प्राविधिकको अध्ययनका आधारमा स्थानीय वडा विपद् व्यवस्थापन समिति र सुरक्षा निकायको निगरानीमा थुप्रिएको लेदो, ढुंगा, माटोलगायत सामग्री हटाउने र व्यवस्थापन गरिनेछ । यसका लागि जिल्ला विपद् व्यवस्थापन समिति रूपन्देहीमा अनुरोध गरिएको उपमहानगरले जनाएको छ । 

 


चौराहा–गोलपार्क खण्ड तत्काल बनाउन माग

 

बुटवल–बेलहिया व्यापारिक मार्गको बुटवलको गोलपार्कदेखि राजमार्ग चौराहासम्मको सडक खण्डमा निर्माण कार्य ढिलो गरी सुरु भएको र यसले जोखिम बढाइरहेको भन्दै विपद् व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ । बैठकले आवागमन कठिन भएको, धुलो र हिलोले जोखिम बढाएकाले तत्काल सहज हुने गरी मर्मत र निर्माणका काम अगाडि बढाउन आग्रह गरेको छ । 

 

ठेक्का लागेको लामो समयसम्म यो खण्डका सडकमा पर्ने घर नहटाइँदा निर्माण कार्य प्रभावित भएको थियो भने लामो समयसम्म लगातार झरी परेको भन्दै निर्माण कम्पनीले काम सुरु गरेको थिएन ।