close

सीता भण्डारी मृत्यु प्रकरण : तिलोत्तमाले गरायो गृहमन्त्रीको ध्यानाकर्षण 

सीता भण्डारी मृत्यु प्रकरण : तिलोत्तमाले गरायो गृहमन्त्रीको ध्यानाकर्षण 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख वासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण–पत्र बुझाएको हो । 

 

नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषीउपर कानुनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरेको छ । घटनाको विषयमा यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको तिलोत्तमा नगरपालिकाले सत्यतथ्य छानबिन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटक–पटक गम्भीर ध्यानाकर्षण गराए पनि घटनाको वास्तविकता बाहिर आउन नसक्दा पीडित झनै पीडित र विरोध दिनानुदिन बढ्दै गएको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ । 

 

यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायका लागि समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः दोहोर्‍याएको छ । 

 

तिलोत्तमा वडा नम्बर ५ मणिग्राम घर तथा वडा नम्बर ८ माइत भएकी २७ वर्षीया सीता भण्डारीको २० भदौमा घरमै शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । विरोध प्रदर्शन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ । 


यसअघि नगरपालिकाले २७ भदौमा प्रेस विज्ञप्ति र २८ भदौमा सर्वदलीय बैठक राखेर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको थियो ।