close

माटाका भाँडालाई प्लास्टिक सामग्रीले विस्थापित गर्ने चिन्ता

माटाका भाँडालाई प्लास्टिक सामग्रीले विस्थापित गर्ने चिन्ता

Trulli
ADVERTISEMENT

रूपन्देही–तिहार नजिकिएसँगै कोहार दम्पतीलाई माटाका भाँडा बनाउन र बिक्री गर्न भ्याई–नभ्याई भएको छ । बिहान उठेदेखि झमक्क साँझ नपरेसम्म माटाका भाँडा बनाउने काममा व्यस्त छन् उनीहरू । ५० वर्षदेखि पुख्र्याैली पेसाको संरक्षण गर्दै आएका दुखी कोहार र उनकी श्रीमती ईश्रावती कोहार चक्रमा राखेको माटोमा कला उतार्ने गर्छन् । उनीहरूको एउटै उद्देश्य छ, चाडपर्वका बेला सबैलाई सहज रूपमा माटोका भाँडा उपलब्ध गराउने । 


अन्य समय माटाका भाँडा फाट्टफुट्ट बिक्री भए पनि तिहारको बेला भने धेरै बिक्री हुने गरेको ओमसतिया वडा नम्बर ४ बेतवलियाका उनीहरू बताउँछन् ।उनीहरूले बनाएको माटाका भाँडा भैरहवा, ठुटीपीपल, कोटिहवा, मणिग्राम, बुटवललगायत विभिन्न ठाउँमा खपत हुने गरेको छ । व्यापारीले तिहारअघि नै आएर अर्डर दिएका र खुद्रा बिक्री गर्न पनि माटोका भाँडा बनाउने काममा दिनरात खटिएका छन्, उनीहरू ।


तिहार र छठ पर्वलाई लक्षित गरी माटोको दियो, चौमुखे दियो, कलशलगायत विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा उनीहरू व्यस्त छन् । भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले साताअघि नै माटोको जोहो गर्ने गरिएको उनीहरू बताउँछन् । ‘गाउँ नजिकै रहेको रोहिणी नदीमा उक्त माटो सहजै पाइने हुँदा माटोका लागि भौतारिनुपर्दैन,’ उनीहरू भन्छन् । 


दुखी कोहारले माटाका भाँडा बनाउन थालेको ७ वर्षदेखि हो । उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘म लगभग ६÷७ वर्षको थिएँ होला । बुबाले गर्दै गरेको काम देखेर मैले पनि गर्न थालेँ । बुबाले सिकाएकाले आकार भाँडामा दिन सिकेँ । गिलो माटोका आकार दिँदै मेरो बालापन बित्यो । युवा अवस्था बित्यो र ५० वर्ष पार गरिसक्दा पनि त्यो जोस कम भएको छैन ।’ 


तर, कहिलेकाहीँ भने उनी अलि चिन्तित देखिन्छन् । त्यो चिन्ता हो– माटाका भाँडा बनाएर आफूसहित १७ सदस्यीय परिवारको जीविकोपार्जन कसरी चलाउने भनेर । आफूले संरक्षण गर्दै आएको पुस्तैनी पेसामा उनलाई पुस्ता हस्तान्तरणको चिन्ता छ । किनकि, यो पेसालाई नयाँ पिँढीले अँगाल्न खोजेको छैन । ‘बुबा, हजुरबाले गर्दै आएको कामलाई मैले अगाडि बढाएँ । तर, छोराछोरीको यो कामप्रति चासो छैन । घरमा हामी दुई श्रीमान्–श्रीमतीपछि यो पेसा गर्ने कोही नहुने भयो’, उनले भने । 


माटाका भाँडाको काम गर्न निकै समस्या भएका कारण पनि नयाँ पुस्ता यसप्रति चासो नराखेको उनको बुझाइ छ । ‘माटोसँग खेल्नुपर्छ । त्यो पनि काँचो माटो । एक त फोहोर भयो । त्यसमा झन् गाह्रो काम । त्यसैले छोराछोरीहरू यस्तो काम गर्दैनौँ भनेर तर्किन्छन्’, उनले थपे ।

 

प्लास्टिकका भाँडाले रुवायो


पछिल्लो समय प्लास्टिक भाँडाको बढ्दो प्रयोगले माटाका भाँडो बनाउने पेसामा निरुत्साहन थपेको छ । घैँटो, दियो, कलशलगायत माटोका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरूकोे पेसामा पछिल्लो समय प्लास्टिकका बाल्टिन, जग, डस्टविनलगायत सामान बजारमा पाइन थालेपछि पेसाप्रति वितृष्णा बढेको हो । 


दसैँ, तिहार र छठमा पनि मैनबत्ती र विद्युतीय झिलीमिली बत्तीकै बढी प्रयोग भएको देखिन्छ । केही वर्षअघि मात्रै यी चाडपर्व र विभिन्न पूजापाठमा माटोका सामग्रीको माग अत्यधिक हुने गर्दथ्यो । माटोको भाँडा चोखो हुने हुँदा सबैले त्यही प्रयोग गर्थे । उनीहरूलाई ती भाँडा बनाउन भ्याईनभ्याई हुन्थ्यो ।


तर, अहिले आधुनिकतामा रमाउनेहरूले प्लास्टिक र धातुका भाँडा तथा रेडिमेड बिजुली बत्ती प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट हुन लागेको दुखी कोहार सुनाउँछन् । उनका अनुसार करिब १० वर्ष पहिले माटोका भाँडा बनाएर एक परिवारलाई वर्षमा २ देखि ३ लाख रुपैयाँ कमाइ हुने गरेको थियो । तर, अहिले अरू बेला खासै बिक्री हुँदैन । भइहाल्यो भने चाडपर्वका बेला ५० हजार रुपैयाँ मुस्किलले माटोका सामग्री बेचेर आम्दानी हुन्छ । 


यो पेसाले मात्रै जीवन गुजारा गर्न सक्ने अवस्था छैन । ‘माटोको सामग्रीको व्यावसायिकीकरण नभएकाले आफूहरूको पेसा परम्परागत मान्यताले मात्रै थामेको छ’, उनले भने, ‘अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंगलगायत महँगो मूल्यमा खरिद गर्नुपर्छ ।’ 


आफूहरूको जातीय पेसा व्यासायिकीकरण नहुँदा युवा पुस्ता अन्य पेसा, व्यवसायका साथै वैदेशिक रोजगारका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको कोहार बताउँछन् । माटोका भाँडा बनाउने पेसाको व्यावसायिकीकरण र उनीहरूको पुख्र्यौली पेसा तथा मौलिकतालाई संरक्षण गर्न सरकारी निकायका साथै गैरसरकारी संघ–संस्थाको ध्यान पुग्नुपर्ने देखिन्छ ।