close

‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ प्रारम्भ हुँदै

‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ प्रारम्भ हुँदै

Trulli
ADVERTISEMENT

कर्णाली– तातोपानी गाउँपालिका–५ जुम्लामा ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ प्रारम्भ हुने भएको छ । संवाद आयोजक समितिले आइतबार  पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराएको हो । 

 

लाम्रा गाउँवासीको आयोजनामा यही कात्तिक १६, १७ र १८ गते लाम्रा संवाद कार्यक्रम सञ्चालन गर्न थालिएको हो । कार्यक्रमका संयोजक गुरुप्रसाद चौलागाईंले ‘लाम्रा संवाद गाउँका कुडा २०७७’ पहिलो संस्करण गत वर्ष सम्पन्न गरी यस वर्ष दोस्रो संस्करण सञ्चालन गर्न थालिएको जानकारी दिए ।

 

संयोजक चौलागाईंले भने, ‘संवादअन्तर्गत गत वर्ष गाउँको समग्र परिवेश र विशेषता बोकेका ११ वटा सत्र सञ्चालन गरेका थियौँ । स्थानीय वयोवृद्ध, योगदानकर्ता र जानकारले आआफ्ना ज्ञान र अनुभव साटेका थिए । त्यसको सिकाइ र सफलतालाई आत्मसात गर्दै दोस्रो संस्करणलाई गाउँगाउँसम्म पुग्ने गरी सञ्चालन गर्दैछौँ ।’

 

संवाद आयोजक समितिका पूर्वसंयोजक धनप्रसाद चौलागाईंले संस्कृति र सभ्यताको जन्मभूमि कर्णाली भाषा, संस्कृति, साहित्य र कलाको उत्खनन तथा प्रवद्र्धन गर्ने उद्देश्यले लाम्रा संवादलाई निरन्तरता दिइएको बताए । ‘कार्यक्रममा जुम्लाका गाउँगाउँको प्रतिनिधित्व हुनेछ’, उनले भने, ‘यसले राष्ट्रिय महत्व राख्ने अपेक्षा गरिएको छ ।’ 

 

संवाद आयोजक समितिका संयोजक चौलागाईंका अनुसार विचारको बहस तथा मन्थनअन्तर्गत ‘विद्वत प्रवचन’, ‘हाम्मा नेता, हाम्मो नीति’, ‘सभ्यताको साइनो, आखरको अलङ्कार’, ‘झरोबाट झलमल्ल गाउँ कसरी ?’, ‘कोरोना कैठ र कथाहरु’ र ‘भुसको आगो’ विषयहरु प्रस्तुत हुनेछन् । 

 

त्यस्तै, सांस्कृतिक सम्वद्र्धनअन्तर्गत ‘दमाहाको रन्को’, ‘मागलको गुञ्जन’, ‘नाचको छमछम’, ‘स्वरको सङ्गम’ र ‘देउडाको घन्को’ शीर्षकमा बहस हुनेछ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले संवाद कार्यक्रमले सांस्कृतिक विकास, प्रवद्र्धन र संरक्षणमा सहयोग पुग्ने बताए ।

 

तातोपानी गाउँपालिका–५ जुम्लाका वडाध्यक्ष हरिबहादुर डाँगीले स्थानीय सरकारले यहाँको स्थानीय भाषा तथा संस्कृति प्रवद्र्धनार्थ पाठ्यक्रम तयारी गरेको बताए । संवाद आयोजक समितिका सदस्य लालप्रसाद चौलागाईंका अनुसार कार्यक्रममा मष्टो प्रथाअन्तर्गत चरण, धारु, ढाल, बालो नाच देखाइने छ ।