close

चित्रकला समाज रुपान्तरणको संवाहक : उपमहानगर प्रमुख सुवेदी

चित्रकला समाज रुपान्तरणको संवाहक : उपमहानगर प्रमुख सुवेदी

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरमा सिर्जनशील चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा भएको चित्रकला प्रदर्शनी विद्यार्थीले रुचिपूर्वक अवलोकन गरे । 


दुई दिनसम्म सञ्चालन भएको चित्रकला प्रदर्शनीमा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले कला–संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमुना काम थालनी गरेको बताए । 

 

बुटवलको पहिचान झल्किने रामापिथेकस, जीतगढी मणिमुकुन्द सेन उद्यान झल्किने चित्र कोरेर प्रचार–प्रसार गर्न आग्रह गर्दै प्रमुख सुवेदीले त्यस्ता चित्रले समाजमा रूपान्तरणको भूमिका निर्वाह गर्ने बताए । 


उनले नगरमा साहित्य, कला र संस्कृतिको विकास गर्न बुटवलमा विद्वत् परिषद् गठन गरेर काम गरिरहेको जानकारी दिँदै कला–संस्कृति संरक्षण र जगेर्ना गर्न सक्नुपर्नेमा जोड दिए । 


बुटवल उपमहानगरको भाषा, साहित्य, कला–संस्कृति प्रतिष्ठानअन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यावसायिक कलाकार संघ, रूपन्देहीको सहकार्यमा चित्रकला प्रदर्शनी भएको हो ।


प्रदर्शनीमा चित्रकलासम्बन्धी विषयवस्तु सुमित्रा रानाले प्रस्तुत गरेकी थिइन् ।  उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले परिषद्को सक्रियताको प्रशंसा गर्दै संस्कार र संस्कृतिको जगेर्ना सबैको साझा भएको बताइन् । 


प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीले संस्कार र संस्कृति अभावले समाजमा विग्रह ल्याउने चिन्ता व्यक्त गरे । प्रतिष्ठानका सचिव दलबहादुर गुरुङ, कार्यक्रम संयोजक झवीन्द्र थापा, बेनप्रसाद थापालगायतले कला–संस्कृतिबारे आ–आफ्ना धारणा व्यक्त गरे । 


२० जना चित्रकारले ४० तस्बिर प्रदर्शनीमा राखेका थिए । निःशुल्क प्रवेश व्यवस्था मिलाइएको चित्रकला प्रदर्शनी १ हजार ६०० जनाले अवलोकन गरेको उपप्रमुख आचार्यले बताइन् ।