close

छठमा रमाए भक्तपुरबासी

Trulli
ADVERTISEMENT

भक्तपुर– बुधबारको साँझ । भक्तपुरको कमलपोखरी बत्तीले झकिझकाउ बनाइएका थिए । छेउमा पाल टाँगिएको स्थानमा ब्रतालुको भीड थामिनसक्नु थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त थिए त कोही निभेका बत्ती बाल्ने कोसिस गर्दै थिए । 

 

भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा छठ मनाउन तराईबासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी भए । तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराईका समुदाय र भक्तपुरबासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाए । 


भक्तपुरमा बस्दै आएका तराईबासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष होइन । यसभन्दा पहिलेका वर्षमा पनि उनीहरूले उपत्यकाका नदी र पोखरीमा छठ पर्व मनाउँदै आएका छन् । त्यसका लागि बिहानैदेखि पोखरीलाई सजाएर चरिचिट्ट पारिएको थियो । ब्रतालुले सजाइएका पोखरीमा साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अघ्र्य दिएर छठ पर्व मनाए । साँझ पूजाआराधना गरी अघ्र्य दिएर आज बिहान उदाउँदो सूर्यको पूजाआराधना गरी अघ्र्य दिएपछि छठ पर्व समापन गरिन्छ । 

 

काम र पढाइको सिलसिलामा उपत्यका भासिएको र गाउँ जाने समय नभएकाो यतै छठ पर्व मनाएको जनकपुरका कृष्णवरण साहले बताए । उनले कमलविनायकमा चटपटे पसल सञ्चालन गर्दै आएका छन् ।


‘बालबच्चा र परिवार यतै छन् । गाउँ जाँदा बालबच्चाको पढाइ बिग्रन सक्छ । व्यापार घट्न सक्छ,’ उनले भने, ‘परिवारमा सल्लाह गरी गाउँ नजाने निर्णय गर्यौं र यतै पर्व मनायौँ ।’

 

छठका लागि नदी र पोखरी अनिवार्य भएकाले कमलपोखरीलाई बिहानैदेखि शृंगार्ने काम गरिएको उनले सुनाए । साहले भने, ‘केहीलाई पोखरीको सरसफाइ गर्न लगायौँ । केहीले अस्थायी टहरा बनाए र केहीले आवश्यक सामग्री व्यवस्था गरे ।’

 

प्रायः तराईबासीले मनाउने पर्व भए पनि भक्तपुरका स्थानीय सरकार र स्थानीयले सहयोग गर्दै आएको उनले जानकारी दिए । ‘व्रत बस्नेभन्दा पनि हेर्नेको भीड धेरै लाग्छ । हामीसँगै उहाँहरू पनि रमाउनुहुन्छ,’उनले भने, ‘यहाँका स्थानीय रमाएको देख्दा हामीलाई खुसी लाग्छ । घर जान नपाएकामा कुनै गुनासो छैन ।’

 

छठको दृश्य हेर्नकै लागि चाँगुनारायणकी विनिता श्रेष्ठ कमलपोखरी पुगिन् । उनले कमलपोखरीलाई दिउँसै शृंगारेको देखेकाले साँझ सबै काम सकाएर मेला हेर्न आएको सुनाइन् । ‘टिभी र सञ्चार माध्यममा छठ मनाएको देखेकी थिएँ । अहिले प्रत्यक्ष देख्न पाएँ,’ उनले भनिन्, ‘अरू दिन सामान्य देखिने पोखरी बिछट्टै राम्रो बनाइएछ ।’