close

आगलागीपीडितलाई ललितपुर महानगरको १० लाख सहयोग

आगलागीपीडितलाई ललितपुर महानगरको १० लाख सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुर महानगरले मंगलबजारस्थित नःबहाल चक्रबहीलमा म्ह पूजाको दिन आगलागीमा परी मृत्यु तथा घाइते भएकाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।  ललितपुर महानगर वडा नम्बर १२ स्थित मंगलबजार, चक्रबहीको घरमा गत १९ कात्तिकमा आगलागी भएको थियो । दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु, दुई घाइते भएका थिए ।


महानगरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले प्रभावित परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधोपचार खर्चसमेत महानगरले बेहोर्ने निर्णय गरेको छ । 


आगलागीमा परेको उक्त घर पुनर्निर्माणका लागि नक्सा पास गर्न लाग्ने राजस्व छुट दिने निर्णयसमेत उक्त बैठकले गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।  ‘त्यो क्षति अपूरणीय हो, त्यसमा हामीले सहयोग गरेर घाउमा मल्हम मात्रै लगाउन खोजेका हौँ,’ महानगर प्रमुख महर्जनले भने ।  सहयोगले अग्निपीडित परिवारलाई केही राहत पुग्ने नगरप्रमुख महर्जनको भनाइ छ ।


आगलागीमा परेर चार जनाले ज्यान गुमाएका थिए । नःबहाल चक्रबहीलका लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको थियो ।  प्रहरीले सर्जमिन गरी उठाएको मुचुल्काअनुसार आगलागीमा करिब २० लाख रुपैयाँको क्षति अनुमान गरेको थियो । वडा नम्बर १२ का वडाध्यक्ष नारायणलाल अवालेले वडास्तरीय विपद् व्यवस्थापन समितिले घटनालगत्तै १ लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिए । 


उनले घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग महल्म भएको बताए । म्ह पूजाको दिन झ्यालमा बालेर राखेको दियोको आगोले झ्यालको पर्दा टिपेर सल्किएको आगो भान्सामा पुगेपछि ग्यास पड्किएको थियो । मृत्यु हुनेमा ६७ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेका थिए । 

 

पाटन अस्पतालमा उपचारका लागि लगिएका लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किएका थिए । ३२ वर्षीया कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा छन् । प्रहरीका अनुसार घटना हुँदा घरमा १० जना थिए ।