close

नमोबुद्धले गर्‍यो  महिला सहकारीलाई सम्मान

नमोबुद्धले गर्‍यो  महिला सहकारीलाई सम्मान

Trulli
ADVERTISEMENT

काभ्रे– नमोबुद्ध नगरपालिकाले लैंगिक हिंसाबाट पीडितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गर्ने संस्थालाई सम्मान गरेको छ ।  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन शुक्रबार आयोजित कार्यक्रममा नगरपालिका वडा नम्बर ७ मा रहेको खनालथोक महिला बहुउद्देश्यीय सहकारी संस्थालाई नगरपालिकाले सम्मान गरेको हो । कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेल, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले संस्थाकी अध्यक्ष देवकी खनाललाई सम्मानपत्र प्रदान गरे ।

 

उक्त संस्थाले आर्थिक वर्ष ०६७/६८ देखि नै लैंगिक हिंसाबाट प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गर्दै हिंसाबाट प्रभावितको संरक्षण र व्यवस्थापन गर्दै आएको छ ।

 

कार्यक्रममा प्रदेशसभा सदस्य भुर्तेलले लैंगिक हिंसा अन्त्यको सुरुआत घरबाटै गर्नुपर्ने बताइन् । अधिकार प्राप्तिका लागि महिला आफैं अघि सर्नुपर्ने बताउँदै उनले समाजमा अझै पनि शारीरिक र मानसिक हिंसाबाट पीडित महिलाको संख्या धेरै रहेको धारणा व्यक्त गरिन् ।


शारीरिक हिंसाभन्दा मानसिक हिंसा झनै डरलाग्दो हुने हुँदा सबै प्रकारका हिंसा अन्त्य हुनुपर्नेमा उनको जोड छ । छोरीलाई शिक्षा दिएर सक्षम बनाउन सके समाज आफैं परिवर्तन हुँदै जाने भुर्तेलको भनाइ थियो । 

 

कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नगरपालिकालाई महिलामैत्री पालिकाको रूपमा अघि बढाउने काम भइरहेको जानकारी दिए । यो वर्षको नीति तथा कार्यक्रममा बुहारी प्रोत्साहन कार्यक्रमलगायत महिलामैत्री कार्यक्रम तय गरेर कार्यान्वयनमा अघि बढेको तिमल्सिनाले बताए ।


कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाध्यक्षद्वय कुलप्रसाद न्यौपाने, धर्मसिं लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, नमोबुद्ध महिला सहकारी सञ्जालकी अध्यक्ष राधिका तिमल्सिनालगायतले सबै किसिमका हिंसा अन्त्य गर्दै समुन्नत समाजको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रम नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो । नमोबुद्धले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा वडास्तरीय अभिमुखीकरण, लैंगिक उत्तरदायी बजेट निर्माणसम्बन्धी अभिमुखीकरण, दीप प्रज्वलनलगायत कार्यक्रम सञ्चालन गरेको थियो ।