close

इटहरीमा बहुजातीय संग्रहालय शिलान्यास

इटहरीमा बहुजातीय संग्रहालय शिलान्यास

Trulli
ADVERTISEMENT

सुनसरी/इटहरी – सुनसरीको इटहरी उपमहानगरमा निर्माण गरिन लागेको बहुजातीय संग्रहालयको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले शिलान्यास गरे ।
बहुजातीय संग्रहालय उपमहानगरको वडा नम्बर १० मा निर्माण गरिन लागेको हो ।


कार्यक्रममा मुख्यमन्त्री राईले इटहरी उपमहानगरमा बहुजातीय संग्रहालय निर्माणपछि संस्कृति र इतिहासलाई जीवन्त बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।संग्रहालयका कारण यो क्षेत्रमा अरू विकास तानिएर आउने उनको भनाइ छ । लोक–संस्कृतिको जर्गेना गर्ने यो कार्यले भविष्यका पुस्ताले लाभ लिन सक्ने उनको धारणा छ । इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले संग्रहालय तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी इटहरीको गौरवको योजना भएको जानकारी दिए ।

 

इटहरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले वडा नम्वर १० मा संग्रहालय निर्माण गर्न लागिएको प्रमुख चौधरीले बताए । व्यवस्थित डिजाइन गरेर काम थालिएको उनको भनाइ छ । इटहरी वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भट्टराईले संग्रहालय इटहरीबासीका लागि गौरव गर्न लायक बन्ने विश्वास व्यक्त गरे । 

 

उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले संग्रहालयमा विभिन्न जातजाति, धर्म–संस्कृतिका सामग्री संग्रह गरिने जानकारी दिए । उनका अनुसार दुई बिघा क्षेत्रफलमा तीन तले भवन निर्माण हुनेछ । संग्रहालयमा २५ वटा प्रदर्शनी कक्ष हुनेछन् । पुस्तकालय, बहुउद्देश्यीय सभा भवन, पार्किङ, फाउन्डेसन, थारुग्रामलगायत संरचना निर्माण गरिनेछ ।

 

१७ करोड १५ लाख,७ हजार ६ सय ७८ रुपैयाँ लागतमा संग्रहालय निर्माण गर्ने योजना छ । चालू आवमा १० करोड रुपैयाँ बजेट विनियोजन भएकाले यो वर्ष करिब ६० प्रतिशत काम सक्ने योजना छ ।

 

शिलान्यास कार्यक्रममा वडासदस्य रामनारायण चौैधरीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रम वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष विषनलाल चौधरीको अध्यक्षतामा भएको हो ।