close

घरघरमै पुगेर बेहुला–बेहुलीलाई नवदम्पती कार्ड बाँड्दै महालक्ष्मीका मेयर

घरघरमै पुगेर बेहुला–बेहुलीलाई नवदम्पती कार्ड बाँड्दै महालक्ष्मीका मेयर

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल नगर क्षेत्रमा हुने अधिकांश विवाहमा पुग्ने गरेका छन् । उनले बिहे घरमै पुगेर बेहुला–बेहुलीलाई दाम्पत्य जीवनको शुभकामना दिने मात्र नभई कार्ड पनि थमाउँछन् । त्यो हो, नवविवाह दम्पती कार्ड । तीन पन्ने यो कार्डमा प्रजनन स्वास्थ्य र जन्मजात अपांगता रोकथामसम्बन्धी जानकारी समावेश गरिएको छ ।

 

स्वस्थ शिशु जन्माउन, मातृशिशु मृत्युदर घटाउन र जन्मजात अपांगता रोकथामका लागि जानकारीमूलक सन्देशसहितको कार्ड थमाएर नगरप्रमुख नेपालले सोहीअनुसार अगाडि बढ्न दम्पतीलाई सुझाव दिने गरेका छन् ।

 

‘हामी अहिले जन्मजात हुने अपांगता रोकथामको अभियानमा छौँ । त्यसैले नवदम्पतीबाट स्वस्थ शिशु जन्मियोस्, मातृशिशु मृत्युदर घटोस् र जन्मजात अपांगता न्यूनीकरण होस् भनेर बेहुला–बेहुलीलाई जानकारीमूलक नवविवाह दम्पती कार्ड दिन थालेका छौँ,’ नगरप्रमुख नेपालले भने, ‘विवाहोत्सवमै यो कार्ड दिँदा प्रभावकारी होला भनेर अभियानमा खटिएका हौँ ।’

 

कार्डमा विवाहपछि गर्नुपर्ने आवश्यक काम तथा तयारी, जन्मजात अपांगता रोकथामका लागि गर्नुपर्ने तयारी र सन्तान जन्माउनुअघि दम्पतीले सेवन गर्नुपर्ने फोलिक एसिडबारे उल्लेख छ ।

 

विवाहको ३५ दिनभित्र विवाह दर्ता गर्न, गर्भधारण गर्नुभन्दा तीन महिनाअघि नै श्रीमान्–श्रीमती दुवैले फोलिक एसिड चक्की सेवन गर्न नवदम्पतीलाई कार्डमार्फत सुझाइएको छ ।


नवविवाह दम्पती कार्ड दिन सकेसम्म नगरप्रमुख आफैं पुग्ने गरेका छन् । टाढा र कार्यव्यस्तताले आफू पुग्न नसकेको ठाउँमा उपप्रमुख मञ्जु अधिकारीसहित अन्य जनप्रतिनिधिलाई पठाउने गरिएको छ । 

 

आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गरेर सबै नवदम्पतीलाई कार्ड वितरण गरिएको नगरप्रमुख नेपालले जानकारी दिए । महालक्ष्मी नगरपालिकाले अपांगता रोकथामका लागि विभिन्न संघ–सस्थासँग सहकार्य गरेर काम गर्दै आएको छ ।