close

जुम्लामा बढे यौन दुव्र्यवहारका घटना

जुम्लामा बढे यौन दुव्र्यवहारका घटना

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो वर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका हुन् । अघिल्लो वर्ष बलात्कारका ३ र यौन दुव्र्यवहार ५ गरी ८ घटना घटेका थिए । यी घटना नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख छन् ।

 

यो वर्ष २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका ४ र यौन दुव्र्यवहार ५ गरी ९ वटा घटना संकलित भएका छन् । बलात्कार तथा यौन दुव्र्यवहारका ९ मध्ये ७ आरोपित पुर्पक्षका लागि कारागार चलान भएका छन् भने २ जना बालक सुधारगृह र १ जना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख छ ।

 

यस्तै, जातीय विभेदसम्बन्धी १, बहुविवाहका २, यातानापछि मृत्यु १, अपहरण १, हत्या १, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी २ गरी १७ वटा घटना संकलन गरिएका छन् । शिक्षा र खाद्य अधिकारसम्बन्धी घटना पनि संकलन गरिएका छन् । 

 

मानव अधिकार वर्ष पुस्तकको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढीपहिरोले पारेको क्षतिलगायत विषयसमेत प्राथमिकता राख्न सुझाए । ‘बाढीले अन्नबालीमा परेको क्षतिका विषयमा धानबाली राहत वितरणका लागि कार्यविधि मात्रै बनेको छ’, उनले भने, ‘अरू अन्नबालीको विषयमा कार्यविधि नबनेकाले यसमा समस्या देखिएको छ । यो विषय थप प्रकावकारी बनाउन लागि जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गर्नेछौँ ।’


राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण साहनीले घटनाको पुष्टि हुने तथ्यांक थप बलियो बनाउन सुझाउँदै बढ्दो सडक दुर्घटनाको विषय पनि समेट्न आग्रह गरे । ‘सडक र सवारी दुर्घटनाका कारण धेरै धनजनको क्षति भएको हुन्छ । यो राज्यसँग पनि जोडिएकाले वर्ष पुस्तकमा समेट्दा उपयुक्त हुन्छ’, उनले भने ।