close

जीविकोपार्जन चलाउँदा कोइलाखानीले पुछिदिएको सिन्दूर... 

जीविकोपार्जन चलाउँदा कोइलाखानीले पुछिदिएको सिन्दूर... 

Trulli
ADVERTISEMENT

दाङ– दाङको घोराही उपमहानगर वडा नम्बर १९ राम्चेमा रहेको कोइलाखानीमा तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको ११ फागुन ०७७ मा कोइला निकाल्ने क्रममा मृत्यु भयो । खानीमा माथिबाट खसेको कोइलाले च्यापेर उनको मृत्यु भयो । 

 

१३÷१४ वर्षदेखि कोइलाखानीमा कोइला खन्ने काम गर्दै आएका कामीको घरमा १९ दिनको नानी थियो । त्यो घटनाले श्रीमती शान्तिका आँखा अझै ओभाएका छैनन् । गाउँघरमा अन्य कामका लागि अवसर नहुने एवं घरपरिवारको रेखदेख र जिम्मेवारी भएका कारण कामीले ०५६÷५७ देखि कोइला खन्ने काम गर्दै आएका थिए ।

 

कामीले दैनिक करिब १ सयदेखि १ सय ८० मिटर भित्रसम्म पसेर कम्तीमा ८ घन्टासम्म काम गर्थे । काम गरेबापत उनलाई कोइला उत्खनन जिम्मा पाएको सत्यसाई कोल उद्योगले प्रतिक्विन्टल १४० रुपैयाँ दिन्थ्यो ।

 

पहाडभित्र सुरुङ खनेर कोइला खन्ने काम जोखिमपूर्ण भए पनि घरको कमजोर आर्थिक स्थितिका कारण उनलाई जोखिमपूर्ण काम गर्नु विवशता थियो । हरेक दिन बिहान ८ बजे कोइलाखानीभित्र पस्ने उनी ११ बजे खाना खान बाहिर निस्कन्थे ।

 

खाना खाएर केही समय विश्राम गरेपछि पुनः १ बजेतिर भित्र पसेपछि ५ बजे निस्कन्थे । मोहनलालको करिब १३÷१४ वर्षदेखिको दैनिकी यसरी चलिरहेको थियो । सानी छोरीसहित ५ जनाको परिवार पाल्ने जिम्मेवारी अहिले शान्तिको काँधमा थपिएको छ । ‘ठूली छोरीको विवाह भइसकेको छ । ठूलो छोरा १३ र कान्छो छोरा ५ वर्षका भए । माइली छोरी ७ वर्ष पुगी’, शान्तिले भनिन्, ‘घरमा उत्पादन हुने अन्नपातले १ महिना पनि खान पुग्दैन । कमाउने मान्छेलाई कोइला खानीले खायो । अब कसरी घर चलाउने ?’ 

 

घोराही उपमहानगर वडा नम्बर १९ का ४५ वर्षीय भक्तबहादुर घर्तीले दुई दशकदेखि कोइलाखानीमा काम गदै आएका थिए । २६ मंसिर ०७८ मा कोइलाखानीको सुरुङभित्रै निस्सासिएर उनको मृत्यु भयो । उनकी श्रीमती दूरपति रानाले आइतबार आफ्ना श्रीमान भक्तबहादुर घर्तीसँग लामो कुराकानी गरेकी थिइन् । त्यो कुराकानी नै उनका लागि अन्तिम हुन पुग्यो । 


घोराही उपमहानगर वडा नम्बर १ काउले दाङ्जास्थित पशुपति कोइलाखानी उद्योगमा भक्तबहादुरले बिहानको खाजा खाएर सुरुङमा छिरेर दिउँसो खाना खान फर्किनु थियो । सँगै गएका अरू साथीहरू पनि उनीसँगै खाना खाने गरी सुरुङ छिरेका थिए । केही अलि पछि थिए तर भक्तबहादुर अगाडि भएका बेला अचानक माथिबाट भत्किएको चट्टानले उनलाई च्याप्यो ।

 

घटनालगत्तै सँगैका साथीहरूले हारगुहार गरे । हतारहतार घटना स्थथलबाट उद्धार गरी घोराहीकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । ‘अघिल्लो दिन आफू ठीकै रहेको, चिन्ता नगर्न भन्दै घरका छोराछोरी र आफ्नो ख्याल गर्नू भन्दै सम्झाएको अझै झलझली गुन्जिरहेको छ’, रानाले भनिन् । सोमबार श्रीमानको अकल्पनीय निधनपछि भावविह्वल अवस्थामा प्रहरी कार्यालय दाङमा भेटिएकी दूरपति भक्कानिइन् । 

 

उनले भनिन्, ‘मेरो जीवनमा दैवले पटक–पटक प्रहार ग¥यो । अब कसको मुख हेरेर बाँच्नू !’ भक्तबहादुरले दूरपतिलाई १ पुसमा घर आउने वाचा गरेका थिए । ‘उहाँले १ पुसमा आउने कुरा गर्नुभएको थियो । मैले आउनुस् भनेकी थिएँ । १ पुस १ मा आउँछु भनेर फोन राख्नुभएको हो । तर, अब त्यो १ पुस कहिल्यै आउने भएन’, दूरपतिले रुँदै भनिन् ।


भक्तबहादुरकी पहिलो श्रीमतीको निधनपछि दूरपतिलाई ३ वर्षअघि दोस्रो श्रीमतीको रूपमा घर भित्र्याएका थिए । दूरपतिले पनि श्रीमान्को मृत्यु भएकाले दास्रो बिहे गरेकी थिइन् । आउँदो वैशाखमा विवाह भएको ३ वर्ष पुग्दै छ । घरको जिम्मेवारी अनि छोराछोरीको रेखदेखको अभिभाराले दूरपतिलाई सताउन थालेको छ । दूरपतिका पहिलेको श्रीमान्बाट २ छोरा र १ छोरी छन् । 

 

भक्तबहादुरका ४ छोरी र २ छोरा छन् । ३ छोरीको बिहे भइसक्यो । घरको सबै जिम्मेवारी दूरपतिकै काँधमा छ । यस्ता पीडादायी घटना हरेक वर्ष दोहोरिइरहन्छन् । कोइलाखानीमा काम गर्नेका परिवारले कष्ट बेहोर्नुपर्ने नियति बनेको छ । भक्तबहादुरकै जस्तै हरेक वर्ष यस्तै घटना हुन्छन् । खानीभित्रबाट कोइला निकाल्ने काम निकै जोखिमपूर्ण छ तैपनि यसो नगरी मजदुरको जीविका चल्दैन । 

 

घोराही र बंगलाचुलीका उत्तरी भेगका खानीमा सयौँ मजदुर आफ्नो ज्यान हत्केलामा राखेरै कोइला निकाल्न विवश छन्  । बाँचेर फर्किने आशा बोकेर सुरुङभित्र पस्ने उनीहरू कहिल्यै आफ्नो जीवनप्रति निश्चिन्त हुन सक्दैनन् । कुनै ठूलो उपकरण नभएका उनीहरूले छिनो, हथौडा, बेल्चाकै भरमा बाटो खोतल्छन् । तैपनि तिनलाई सुरक्षा र सतर्कताबारे केही सिकाइएको छैन ।

 

खानीमा ढुंगा–माटो खस्न थाले, रोक्ने उपाय छैन । कतै–कतै काठको टेको लगाइए पनि त्यो भरपर्दो हुँदैन । कतै बोरा राखेर अड्याइएको हुन्छ । मापदण्डबिनै कोइला खन्दा कतिबेला कहाँ भत्किन्छ, केही थाहा हुन्न । त्यही भएर हरेक दिन सुरुङबाट निस्किपछि युद्ध जितेजस्तो उनीहरू महसुस गर्छन् । 


बितेको १० वर्षे अवधिमा खानीमा आधा दर्जन बढीको मृत्यु भइसकेको छ । कयौँ घाइते भएका छन् । आफ्नै आँखाअगाडि सँगै काम गरिरहेका साथीको मृत्यु भएपछि धेरैले यो काम नगर्ने निधो गर्छन् । तर, पेट पाल्न समस्या भएपछि बाध्यताले उही गैती, बेल्चा उठाउन बाध्य छन् ।