close

८३ वर्षीया बेसहारा फुटिकले अहिलेसम्म पाइनन् नागरिकता 

८३ वर्षीया बेसहारा फुटिकले अहिलेसम्म पाइनन् नागरिकता 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ४ स्थित बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटिक न कानले सुन्छिन्, न त उनलाई सहारा दिने नै कोही छ । उनका छोराछोरी, श्रीमान् छैनन् भने हालसम्म नागरिकता पनि पाएकी छैनन् ।

 

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा जन्मिए पनि २४ वर्षदेखि जुम्लामा बस्दै आएकी उनी कान नसुन्ने अपांगता छन् । । उनको अपांगता परिचयपत्रसमेत छैन । उनले गैरनागरिक जीवन बिताइरहेकी छन् । 

 

उनका ३ भाइ भए पनि साथमा छैनन् । एक्लै गुम्बामा बस्छिन् । उग्रेन तेघोलिङ गुम्बाका काङसर लामाले गुम्बामा वास दिएर हेरविचार गर्दै आएका छन् ।  वृद्ध महिलाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको लामाले बताए । उनले भने, ‘उनका भाइ भए पनि हेरविचार गर्दैनन् । खाना खानसमेत मुस्किलले सक्छिन् । कान पनि सुन्दिनन् ।’ 


८३ वर्षको उमेर पुग्दा पनि उनको नागरिकता बनेको छैन । नागरिकता नबनेका कारण सरकारी सेवा–सुविधाबाट वञ्चित भएको गुम्बाका काङसर लामाले बताए । उनले भने, ‘बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्तासमेत पाउने गरेकी छैनन् । नागरिकता नहुँदा उनले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको हो । उनका दाजुभाइले पनि नागरिक बनाउन पहल गरेनन् ।’ 

 

८३ वर्षीय वृद्ध महिला मृत्यु कुरेर बसेकी छन् । मरेपछि पनि कसले काजकिरिया गरिदेला भनेर चिन्ता गर्ने गरेको लामाले सुनाए । कोरानो प्रभावित अपांगता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्लाले राहत खाद्यान्न वितरण गरेपछि उनलाई सहज भयो । गुम्बाले बास दियो ।

 

केही राहत खाद्यन्न पाएपछि अहिले उनलाई खान, बस्न सहज भएको छ । यस्तै, सिंगाचौरका बौद्धिक अपांगता भएका व्यक्ति धनमल साकी, अनुष्का कामीलगायत चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकाका कोरोना प्रभावित अपांगता भएका २४९ र विपन्न ३०६ गरी ५५५ जनालाई राहत वितरण गरिएको छ ।

 

कोरोना प्रभावित विपन्न नागरिक र अपांगता भएका व्यक्तिको दैनिकी सहज बनाउन राहत वितरण गरिएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ जनालाई राहत वितरण गरिएको अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ ।

 

कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रमअन्तर्गत करिब ६ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए । उनले भने, ‘सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्लाले चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकामा राहत वितरण गरेको हो । स्थानीय सरकारको समन्वयमा दुई चरणमा राहत वितरण गरेका हौँ ।’


चामल ६० केजी, दाल १५ केजी, १ किलो नुन, २ वटा साबुन, जिरा, खुर्सानी, धनियासहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताए । उनका अनुसार विपन्न परिवारमा अपांगता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो । 

 

टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ । कोरोनाका कारण आम्दानी गुमाएका तथा विपन्न नागरिकलाई तेस्रो चरणको सहयोग कार्यक्रमअन्तर्गत दोस्रो चरणको राहत वितरण कार्यक्रमको तयारी भइरहेको छ । कनकासुन्दरी र चन्दननाथमा विपन्नलाई राहत कार्डसमेत वितरण गरिएको छ । विपन्नले सोही कार्डको आधारमा तेस्रो चरणको राहत पाउनेछन् ।

 

कोरोनाले लामो आम्दानीविहीन बनाएपछि करिब ६ महिना खाद्यान्न पुग्ने वितरण गरिएको हो । महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताए । चन्दननाथकी नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले संकटको समय आर्थिक अवस्था कमजोर भएका घरपरिवारका व्यक्तिलाई राहत उपलब्ध गराउनु सकारात्मक रहेको बताइन् । राहत प्याकेज कार्यक्रमका लागि चन्दननाथ र कनकासुन्दरीमा १० बढी व्यक्तिलाई ६ महिनासम्म स्वयंसेवक परिचालन गरिएको छ ।