close

उदयपुरमा मनाइँदै किराँत समुदायको उधौली पर्व 

उदयपुरमा मनाइँदै किराँत समुदायको उधौली पर्व 

Trulli
ADVERTISEMENT

उदयपुर–    प्रकृति पूजक किराँती समुदायको महान् चाड उधौली ‘साकेला धिरीनाम ५०८१’ उदयपुरमा सुरु भएको छ । धार्मिक स्थलमा विधिवत पूजाआजासहित १५ दिनसम्म उधौली चाड मनाउन सुरु गरिएको हो । यो पर्व किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्छन् । किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायको मागअनुसार सरकारले ०५८ मा यो पर्वलाई राष्ट्रिय चाडको रूपमा घोषणा गरेको थियो ।

 

यो पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्याँदर, लिम्बूले चासोक तङनाम र राईले साकेला भनेर मनाउने गर्छन् । यो पर्व कृषि कर्ममा आधारित भएर मनाउने गरिएको जानकार बताउँछन् । वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किराँतले मंसिर पूर्णिमामा त्यसैगरी पूजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ । 

 

वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बसाइँ सर्ने भएकाले उधौली भन्ने चलन छ । उधौलीको दिन नोक्छो अर्थात् धामीले पुजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ । उभौलीमा उनीहरूले माटोको टीका लगाउने गर्छन् भने उधौलीमा घरमा भित्र्याएको नयाँ अन्नको दही र चामले सेतो टीका लगाउने चलन छ ।

 

पूजामा कुखुराको भाले पोथी, सुगुर आदि जनावरको बलि दिने चलन रहेको किराँत राई यायोक्खाले जनाएको छ । ढोल र झ्याम्टाको लयमा खुट्टाको चाल मिलाई नाचिने सिलिमा मानव सभ्यता विकास क्रममा वस्तुस्थितिलाई हातको हाउभाउबाट देखाइन्छ । गीतसमेत सोही विषयमा आधारित हुने जानकारको भनाइ छ ।

 

ग्रामीण भेगमा एक महिनासम्म चल्ने नाचमा सहभागी पुरुषले फेङ्गा भनिने एक किसिमको पोसाक, खाडीको घरबुना दौरा–सुरुवाल, कोट, टोपी र मयूरको प्वाँख लगाउने चलन छ । महिलाले छिट्को गुन्यू, ढाका पछ्यौरी, मखमल वा ढाकाको चोलो, सेतो पटुकी लगाउने चलन छ । उनीहरूले ढुंग्री, मड्यौरी, बुलाकी र सिक्काको मालासमेत लगाउने गर्छन् ।

 

बालबालिकादेखि वृद्धवृद्धासमेत किराँत समुदायको परम्परागत पोसाकमा सजिएर सिलि नाच्ने गरिन्छ ।  किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष नवीन राईका अनुसार वर्षमा दुई पटक उभौली र उधौली चाड मनाउने राई समुदायले यतिबेला अन्नबाली भित्र्याएको खुसीयालीमा उधौली पर्व मनाउने गर्छन् ।

 

सदरमुकाम गाईघाट र पश्चिम व्यापारिक केन्द्र कटारीमा उधौली आयोजना गरी साकेला नाचिएको किराया अध्यक्ष राईले जानकारी दिए । भाषाशास्त्री डा. कैलाश राईका अनुसार ढोल, भ्mयाम्टा बजाउँदै साकेला नाचिन्छ । विभिन्न शैली प्रदर्शन गर्दै नाचिने साकेला नाचलाई सिलि भनिन्छ । जीव, जन्तुदेखि विभिन्न कृषिसँग सम्बन्धित कामको शैली सिलिमा प्रस्तुत गरिन्छ । 

 

चरा नाचेको, गंगटा हिँडेको, माछा उफ्रेको, भाले नाचेको साकेला सिलिमा दुरुस्तै देखिन्छ । धान रोपेको, मकै छरेकोदेखि अन्नपात रोपेको, गोडेको, काटेको र भकारीमा थन्काएकोसम्म सिलीमा देखाइन्छ । हातमा चौँरीगाईको पुच्छर, रुमाल, हरियो सेउला लिएर लहरै नाचिने साकेला आकर्षक देखिन्छ । गहिरो तालमा घन्किने जोडी ढोल र भ्mयाम्टाको रौनकमा साकेला नाच्नेहरू थकाइ महसुस गर्दैनन् ।

 

पुरुष–महिला एकसाथ समावेश भएर गोलो घेरामा नाच्ने गर्छन् । बालबालिकादेखि पाका उमेरकासम्म तालमा ताल मिलाएर साकेला नाच्ने गर्छन् । किराँत राई युवायुवतीको विशेष जमघट हुने गर्छ । साकेलामा नाचेर दुःख, पीडा भुल्ने, मनलाई खुसी दिलाउँदै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । टाढा पुगेका परिवारजन, आफन्तजन, नरनाता, छरछिमेकसँग भेटघाट गर्ने अवसरको रूपमा पनि यसलाई लिइन्छ । विशेषगरी छोरी,चेलीले माइती सम्झेर विशेष कोसेलीका साथ भेट्न आउने गर्छन् ।

 

उधौली साकेला चाडलाई राई समुदायले अन्नबाली फल्यो, अब बाँचियो है भन्ने खुसीयालीमा पनि मनाउने गरेको राई समुदायका अगुवा जीतमान राई सुनाउँछन् । किराँत राई यायोक्खाका केन्द्रीय सदस्य गणेश खालिङ राईका अनुसार परापूर्वकालमा अन्नबालीको जमाना अगाडि मानिस सिकार गरेर आफ्नो आहारा टार्थे । त्यसबेला सिकार गरेको खुसीयालीमा साकेला नाचेर खुसी मनाउने गर्दथे । राई भाषामा ‘सा’ को अर्थ मासु र ‘केला’ को अर्थ नाच हो ।

 

प्रकृति पूजक राई समुदायले सिकारकै क्रममा अन्न पत्ता लगाएको मिथक छ । किराँत किंवन्दन्तीमा सिकारको क्रममा ढुकुर मारिन्छ र ढुकुरको गाँडमा कोदो, मकै, धानको बिउ फेला पर्छ, त्यसलाई एक किराँत युवा पात्रले भष्मे पाखा फाँडेर छर्छ र अन्न फलाउँछ । त्यसैको विकसित रूप अहिलेको खेतीबाली हो भन्ने मान्यता छ ।