close

कठ्यांग्रिँदो जाडोमा ओडारमै बास

कठ्यांग्रिँदो जाडोमा ओडारमै बास

Trulli
ADVERTISEMENT

जुम्ला– हाल जुम्लाको तापक्रम माइनस ६ डिग्री छ । रात पर्नेबित्तिकै कसरी जाडो छल्ने भन्ने चिन्तामा नागरिक छन् । बिहान उज्यालो हुनेबित्तिकै भोकको चिन्ताले सताउँछ, चेते कुलाललाई । चन्दनननाथ नगरपालिका वडा नम्बर १ कुलालवाडास्थित ४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि खुला अकासमुनि ओडारमै बास छ । कुलाल घरवारविहीन हुन् । १५ वर्षदेखि ओडारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा मात्र कम्बल छ, त्यो पनि फाटेको । उनी बिहान–बेलुका छाक टार्न सडकमा भौतारिँदै हिँड्छन् ।


गाउँमा स्थानीय सरकार आएको झन्डै पाँच वर्ष पुग्न लागिसक्यो । सबैभन्दा नजिकैको वडा सरकार पनि छ । तर, कुलालजस्ता वर्षौंदेखि गाँसबासको खोजीमा भौतारिँदै आएकाको उद्धार हुन सकेको छैन । चन्दननाथ नगरपालिका वडा नम्बर १ का कुलाल हिमपातमा होस् या बर्खा । उनको दैनिकी ओडारमै बितिरहेको छ । उनी बिहानै खानाको जोहो गर्न सदरमुकाम निस्कन्छन् । उनी बस्ने ओडारमा फाटेको कम्बल र एक–दुई खाली भाँडाबाहेक केही छैनन ।


कोरोना महामारीमा प्रभावित र विपन्न व्यक्तिलाई सिबिएम नेपालको सहयोगमा राहत वितरण गरिएको सो बस्तीमा कुलाल भने राहत पाउनेमा परेनन् । स्थानीय वडा पालिकाले छनोटमा छुटाएपछि उनले राहत पाएनन् । 

 

त्यस क्षेत्रमा स्वयंसेवकको भूमिका वहन गरेका यज्ञबहादुर बुढ्थापाले छनोटमा २७ जना अपांगता भएका र विपन्न व्यक्तिलाई राहत वितरण गरिएको बताए । तर, स्थानीय कुलालजस्ता ओडारमा बस्नेले राहत नपाएकामा आक्रोश व्यक्त गरे ।

 

स्थानीय रविन कुला पाउनुपर्नेले राहत नपाएको बताए । विभिन्न चरणमा राहत वितरण भए पनि कुलालहरूलाई बेवास्ता गरिएको उनको भनाइ छ । भोक लाग्नेबित्तिकै माग्न हिँड्ने कुलाल जुम्ला कालेखोलीमा करिब दुई केजी बराबरको प्लास्टिकमा चामल र हातमा केही कपडा बोकेर सदरमुकामबाट १५ मिनेट टाढा ओडारतिर फर्किने उनको दैनिकी बनेको छ । कुलालकी श्रीमतीले छाडेपछि उनी वेसहारा भएका छन् । उनका एक छोरा पनि छन् । आमाछोरा भिन्दै बस्ने गरेको स्थानीयले बताए ।


विपन्नलाई राहत दिइए पनि बेचेर खाने भएकाले प्राथमिकतामा नपरेको कार्यपालिका सदस्य गोविन्द आचार्यले बताए । । उनले वडापालिकाले धेरै पटक कुलाललाई राहत दिएको दाबी गरे ।