close

ललितपुर महानगरले थाल्यो नागरिक सचेतना अभियान

ललितपुर महानगरले थाल्यो नागरिक सचेतना अभियान

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरु गरेको छ ।  नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान आइतबारबाट सुरु गरेको हो ।


सचेतना अभियानअन्तर्गत पहिलो दिन आइतबार ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित मोटरसाइकल  र्‍याली आयोजना गरेको छ ।
महानगरभित्र बसोबास गर्ने जनतालाई सभ्य र सचेत गराउन तथा नयाँ नियम कानुनबारे जानकारी गराउने उद्देश्यले अभियान सुरु गरेको ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिए ।

 

‘सचेतना कार्यक्रमअन्तर्गत नागरिकलाई नगरपालिकाका नियमबारे जानकारी दिनेदेखि स्वच्छ सुन्दर ललितपुर बनाउन महानगर र नागरिकको साझेदारीबारे पनि सचेतना फैलाउँछौँ,’ उनले भने, ‘कार्यक्रममा फोहोर व्यवस्थापन, सवारी पार्किङ, फुटपाथ अतिक्रमण भवन निर्माणदेखि करबारे नागरिक जानकारी दिइनेछ । यसका लागि पर्चा बाँड्नेदेखि टोलटोलमा पुगेर माइकिङ गर्नेसम्मको कार्य गरिनेछ ।’

 

नगर प्रहरीले यसअघि जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई कारबाही गर्दै आएको छ । फुटपाथ मासेर सवारी चलाउन बाधा पारी पार्किङ गरिराखिएका सवारीलाई ह्वील लक गरी तत्कालै जरिमाना गराउन थालेको छ ।  यो अभियानबाट पछिल्लो समय जथाभावी पार्किङ गर्ने बानी परिवर्तन हुँदै गएको हाछेथुले बताए । ‘हामीले सचेतनास्वरूप कारबाही थालेका थियौँ । छोटो समयमै सफल भयौँ’, उनले भने, ‘हाम्रो अभियानलाई नगरबासीले साथ दिएका छन् ।’