close

काठमाडौँ–धुलिखेलमा हाइड्रोजन बस सञ्चालन हुने 

काठमाडौँ–धुलिखेलमा हाइड्रोजन बस सञ्चालन हुने 

Trulli
ADVERTISEMENT

काभ्रे– काठमाडौँदेखि धुलिखेलसम्म वैकल्पिक ऊर्जा प्रयोग गरेर हाइड्रोजन बस सञ्चालनमा ल्याइने भएको छ । धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब अफ धुलिखेलले दुई वर्षभित्रमा काठमाडौँ–धुलिखेल हाइड्रोजन बस सञ्चालानमा ल्याउने भएका हुन् ।

 

पेट्रोलियम पदार्थ खरिदका लागि खर्बौं रुपियाँ विदेशमा गइरहेको अवस्थामा वैकल्पिक इन्धनको स्रोतका रूपमा हाइड्रोजन ग्यास प्रयोग गर्ने गरी नगरपालिका, विश्वविद्यालय र रोटरी क्लबबीच बुधबार त्रिपक्षीय सम्झौता भएको हो । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन मनीष पोखरेल र रोटरी क्लबका अध्यक्ष जयबहादुर राईले हस्ताक्षर गरेको सम्झौतापत्रमा धुलिखेल नगरपालिकालाई ग्रिन सिटी बनाउन हरित हाइड्रोजन प्रयोगमा ल्याउने उल्लेख छ ।

 

समझदारीपत्रमा हाइड्रोजन बस सञ्चालन गर्न आवश्यक नीति, नियम र आर्थिक सहयोग धुलिखेल नगरपालिकाले गर्ने, काठमाडौँ विश्वविद्यालयले प्रविधिको क्षेत्रमा काम गर्ने र रोटरी क्लबले आर्थिक सहयोग जुटाउने उल्लेख छ ।

 

विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले देशको समृद्धि र वातावरण संरक्षणका लागि हाइड्रोजन बस उपयोगी हुने विश्वास व्यक्त गर्दै विश्वविद्यालयले हाइड्रोपावरबाट धेरै काम गर्न सक्ने भए पनि स्रोतको अभावमा काम हुन नसकेको जानकारी दिए ।

 

नगरप्रमुख व्याञ्जूले धुलिखेललाई शून्य कार्बन उत्सर्जन गर्ने सहरका रूपमा विकास गरिएको भन्दै त्यसका लागि हाइड्रोजन बससमेत सञ्चालन गर्न लागिएको बताए । उनले मुलुकले अहिले वार्षिक आठ खर्ब रुपियाँभन्दा बढी पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको बताउँदै त्यसलाई रोक्न र रोजगारीको अवसर सिर्जना गर्न सरकारले वैकल्पिक ऊर्जामा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

केयूका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराज सिंह थापाले डेढ वर्षदेखि विश्वविद्यालयले विभिन्न देशमा हाइड्रोजनबाट सञ्चालित बसका बारेमा अध्ययन गरेर योजना अगाडि बढाएको बताए । उनका अनुसार पानीमा ८० देखि ९० प्रतिशतसम्म हाइड्रोजन हुन्छ ।

 

विद्युत्को माध्यमबाट यसलाई छुट्याइन्छ । एक किलोग्राम हाइड्रोजनमा तीस युनिट बराबर बिजुली हुन्छ । उनले पाँच वर्षसम्म सञ्चालन हुने उक्त प्रोजेक्टले दुई वर्षभित्रमा दुईवटा हाइड्रोजन बस सञ्चालनमा ल्याउने भन्दै भान्सामा पनि इन्धनका रूपमा हाइड्रोजन ग्यास प्रयोगमा ल्याउन सकिनेबारे परीक्षण हुने बताए । केयूको प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामा र रोटरी क्लबका अध्यक्ष राईले सम्झौताले वातावरण संरक्षणमा सहयोग पुग्ने अपेक्षा लिएको बताए ।