close

सुनसरीको कोसी पालिकामा बाँडियो जग्गाधनी प्रमाण पुर्जा

सुनसरीको कोसी पालिकामा बाँडियो जग्गाधनी प्रमाण पुर्जा

Trulli
ADVERTISEMENT

काठमाडौं– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुनसरीको कोसी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घरपरिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले कोसी गाउँपालिकामा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै जिल्लाका सबै गाउँब्लकमा लालपुर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् ।

 

मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गाधनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेका कोही छुट्न नहुनेमा जोड दिइन् । उनले लालपुर्जा नहुँदा नागरिकतासमेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार उपभोग गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपुर्जा पाएपछि सहज हुने विश्वास व्यक्त गरिन् । 

 

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग गठन गरेर त्यसलाई पूूर्णता दिने काम भइरहेको जानकारी दिइन् । 

 

मन्त्री श्रेष्ठले प्रविधि प्रयोगमा जोड दिएको, नक्साको मूल्य घटाउन लागिएको, जग्गाको लेखापढीमा जथाभावी रकम लिने पद्धति रोक्न काम सुरु गरेको र मुक्त हलिया, कमलहरी, कमैयाको वास्तविकता अध्ययन गर्न गरी समस्या समाधान गर्ने काम सुरु भइसकेको बताइन् । 

 

उनले हरुवा चरुवाको रोजगारी हक कार्यान्वयनका लागि युवा तथा तिनका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रियासमेत अगाडि बढेको उनको भनाइ छ । तल्ला तहका नागरिक, वास्तविक पीडितको आवश्यकता र आवाज सम्बोधन गर्न झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्न लागेको उनको दाबी छ ।

 

मन्त्री श्रेष्ठले हालसम्म गाउँब्लकका १४ हजार बढी घरपरिवारलाई लालपुर्जा वितरण गरिएको बताइन् । ०२१ यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र जग्गा भएर पनि लालपुर्जाविहीन बनिरहेकालाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।