close

अन्ततः एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत

अन्ततः एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत

Trulli
ADVERTISEMENT

काठमाडौं– कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले व्याख्यात्मक घोषणासहित आइतबार नै अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘व्याख्यात्मक टिप्पणीसहित संसद्मा पेस गरेर आइतबार नै एमसीसी पारित गर्न गठबन्धन सहमत भयो,’ उनले भने ।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागे पनि समय नभएको बताउँदै आइतबार नै पारित गर्ने निर्णय गरिएको उनको भनाइ छ । नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

 

सत्ता गठबन्धनको बैठकअघि बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास हुँदै गर्दा प्रमुख प्रतिपक्षी एमालेले पनि साथ दिने विश्वास व्यक्त गरेको छ ।

 

‘सत्तारुढ गठबन्धन सहमत भइसकेको अवस्थामा एमाले पनि पक्षमा उभिने गठबन्धनको विश्वास छ । एमालेले नै एमसीसी संसद्मा लगेको हो,’ नेता पौडेलले भने ।

 

एमसीसीका पक्षमा मत प्रकट नगरे एमालेमाथि नैतिक प्रश्न उठ्ने पौडेलको भनाइ छ । ‘राजनीति दलसँग राजनीतिक नैतिकता हुनुपर्छ । त्यो नैतिकता छ कि छैन भन्ने एमालेको परीक्षण अब हुन्छ,’ नेता पौडेलले भने ।