close

३८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो भक्तपुरको रानीपोखरी

३८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो भक्तपुरको रानीपोखरी

Trulli
ADVERTISEMENT

भक्तपुर–०४० देखि नेपाली सेनाको नियन्त्रणमा रहेको भक्तपुर नगरपालिकामा रहेको रानीपोखरी ३८ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पोखरी भक्तपुर नगर प्रमुख सुनील प्रजापतिले सार्वजनिक स्वामित्वमा ल्याएर जीर्णोद्धार गराएका हुन् ।

 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मंगलबार उद्घाटन गरेपछि पोखरी सर्वसाधारणका निम्ति खुला भएको हो । यो पोखरी सैनिक आवासीय महाविद्यालयभित्र रहेको छ ।

 

०२१ को नापीमा पोखरी र वरपरको चउर सार्वजनिक स्थल थियो । यसलाई स्थानीयले सानो टुँडिखेल भन्थे । ०४० मा त्यहाँको करिब ५ सय रोपनी जग्गा सेनाले नियन्त्रणमा लिएको थियो । खुला सार्वजनिक चौरमा सैनिक आवासीय महाविद्यालय, खेल मैदान र स्कुलका भवन बनेका छन् ।

 

पुर्खौं पुर्खादेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गा सेनाको कब्जामा पुगेपछि ऐतिहासिक रानीपोखरी र स्थानीय कुलदेवता (दिगु द्यः) पनि सर्वसाधारणको पहुँचबाट टाढा थिए । प्रत्येक वर्ष देवाली पूजामा सेनाको अनुमति लिएर मात्र स्थानीय त्यहाँ पस्न पाउँथे । सेनाको नियन्त्रणमा पुगेपछि रानीपोखरी संरक्षण अभावमा जीर्ण बनेको थियो ।

 

१८ चैत ०७५ मा भक्तपुरका नगरप्रमुख प्रजापतिले तत्कालीन रक्षामन्त्री र प्रधानसेनापतिलाई भेटेर न्हू पुखू र त्यस वरपरको जग्गा सार्वजनिक प्रयोगका निम्ति खुला गर्न आग्रह गरेका थिए ।

 

प्रजापतिले उक्त समस्या तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापालाई सुनाए । पोखरी जीर्णोद्धार गर्ने र आपसी साझेदारीमा सधैँका लागि खुला गराउने प्रस्ताव अघि सारे । २ जेठ ०७६ मा पोखरी खुला गर्न सेनाबाट स्वीकृति मिलेको थियो ।

 

‘नगरपालिकाले जीर्णोद्धार र रेखदेखको जिम्मा लिने गरी रानीपोखरी सार्वजनिक हुने भयो । सानो टुँडिखेल, पार्किङलगायत अन्य विषयमा पनि सम्झौता भयो,’ नगरप्रमुख प्रजापतिले भने ।

 

नगरपालिकाले सेनासँग स्वीकृति पाएर पोखरी जीर्णोद्धार सुरु गर्नुअघि यहाँ जंगलजस्तो घारी थियो । सफा गरेपछि विस्तारै बर्खाको पानी भरिएर पोखरीको आकार पाएको छ ।

 

यो पोखरीको क्षेत्रफल १२ रोपनी ५ आना २ पैसा छ । बीचमा नागको खाँबो राखिएको छ । पोखरी बीचको नागले एउटै रेखामा रहेका भक्तपुरका रानीपोखरी, सिद्धपोखरी र नः पोखरीबीचको सम्बन्ध झल्काउने संस्कृतिविद् ओम धौभडेल बताउँछन् ।

 

जीर्णोद्धार क्रममा पोखरी वरिपरि पर्खाल लगाइएको छ । पर्खाल, पेटी, बाटो, डबलीलगायत संरचना मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएका छन् । नगरपालिकाले पोखरी र फल्चा निर्माणका लागि छुट्टाछुटै उपभोक्ता समिति गठन गरेको थियो ।