close

चैनपुर नगरपालिकाभरि छ्यालब्याल खानेपानी

चैनपुर नगरपालिकाभरि छ्यालब्याल खानेपानी

Trulli
ADVERTISEMENT

संखुवासभा- संविधानमा व्यवस्था भएअनुसार नागरिकलाई स्वच्छ खानेपानीको अधिकार दिलाउन तीनै तहका सरकारले योजना बनाएर काम गरिरहेका छन् । संखुवासभाको चैनपुर नगरपालिकाले खानेपानीको आवश्यकता पूरा गर्न सोलार लिफ्टिङ आयोजना सञ्चालन गरेर पानीकै कारण बसाइँसराइ गर्न बाध्य नगरबासीलाई रोक्न सफल भएको छ । 

 

भौगोलिक रूपमा विकट संखुवासभाको चैनपुर नगरपालिकामा खानेपानी प्रमुख समस्या रहँदै आएको थियो । खानेपानी अभावकै कारण गाउँ छोड्नुपर्ने अवस्था चैनपुरबासीले भोग्ने गरेका थिए । खानेपानीको हाहाकारमा सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसैना र मलाटे गाउँबासी पिल्सिरहेका थिए । पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्नुपर्ने बाध्यतामा जुधिरहेका नागरिकका लागि अर्को उपाय पनि थिएन । तर, अहिले  बसाइँसराइ गर्नेहरू पहिलेको तुलनामा निकै कम छन् । अहिले नगरपालिकाले दुई वटा सोलार लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरेर यो अवस्थाको अन्त्य गर्ने प्रयास गरिरहेको छ । खानेपानीको समस्यामा नागरिक पिल्सिएपछि अरुण नदी र सभा खोलामा आयोजना सञ्चालन गरिदिँदा अहिले धेरै हदसम्म यो समस्या समाधान भएको नगरप्रमुख भरतकुमार खत्री बताउँछन् ।

 

खानेपानी अभावले कृषक निरन्तर प्रताडित थिए । अहिले नगरपालिकाको बृहत्तर खानेपानी योजनाले धेरै नगरबासीको पानीको समस्या समाधान भएको छ । यी योजनाले वडा नम्बर १, २ र ४ बाहेक सबै वडामा खानेपानीको व्यवस्था गरेको छ । अन्य साना आयोजनाले पनि खानेपानीको समस्या समाधान गरिरहेको नगरपालिकाका इन्जिनियर रिवाज खत्रीले जानकारी दिए ।


पिलुवा कल्लेरी सोलार लिफ्टिङ आयोजना पनि चलिरहेको छ । जर्मन संँस्थासँग भइरहेको सहकार्यले खानपानी अभावको समस्या सधैँका लागि अन्त्य हुने जनप्रतिनिधिको विश्वास छ । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नगरपालिकाले गरिदिएको छ । व्यवस्थित डम्पिङ साइट निर्माणको योजना नगरपालिकाले अघि बढाएको छ ।