close

सुकुम्बासी र विपन्नको टेको बन्दै मिक्लाजुङ्गका जनप्रतिनिधि

सुकुम्बासी र विपन्नको टेको बन्दै मिक्लाजुङ्गका जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

मोरङ–गरिबीको रेखामुनि रहेका नागरिकको आयस्रोत बढाउन स्वरोजगारमूलक तालिमदेखि उत्पादनसम्मका योजनामा स्थानीय निकायले अनुदान दिँदै आएका छन् । स्थानीय सरकारको बजेट तथा कार्यक्रम नागरिकका जीवनस्तर उकास्न केन्द्रित भइरहेका छन् । मोरङको मिक्लाजुङ्ग गाउँपालिकाले अव्यवस्थित सुकुम्बासी बस्ती व्यवस्थापन र निम्न आय भएका नागरिकलाई स्वरोजगारमूलक तालिम दिँदा गरिबी घटाउन मद्दत पुगेको छ । 

 


‘सीपमूलक तालिम दक्षताको विकास, रोजगारी सिर्जना गरिबीको निकास’ मूल नारालाई आत्मसात् गरेको मोरङको मिक्लाजुङ्ग गाउँपालिकाले साढे चार वर्षयता गरिबी निवारणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । समृद्ध स्थानीय तह बनाउन रोजगारीका अवसर पहिचान गर्ने, तालिम दिने र आर्थिक सहयोग लगायतका काम जनप्रतिनिधिबाट भएका छन् । जनप्रतिनिधिले गरिबी निवारण गर्न विभिन्न योजना सञ्चालन गरिरहेको छ । गाउँपालिकाले विभिन्न संघ–संस्थाको पहलमा रोजगारमूलक र सीपमूलक कार्यक्रम सञ्चालन, एकल महिला, दलित, अल्पसंख्यक समुदायका नागरिकलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, ज्येष्ठ नागरिक र वृद्धवृद्धाका लागि चौतारो निर्माण, बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, छात्रासँग उपाध्यक्ष कार्यक्रम चलाउँदै आएको छ ।

 

०६८ को तथ्यांकअनुसार मिक्लाजुङ्गमा ८ सय ८५ घरमा खरको छाना भएका घर थिए । तर, अहिले त्यस्ता छाना लगभग हटेका छन् । छत ढलाइ भएका छन् । गाउँपालिकाले विपन्नलाई पक्की घर बनाइदिएको छ । वर्षामा छत चुहिने र जाडोमा चिसोमा बस्नुपर्ने बाध्यता अन्त्य हुँदा नागरिकले लाभ लिन सकेको वडा नम्बर ६ की स्थानीय तुल्सा थापा बताउँछिन् ।

 

घर नभएकाले आवास पाएपछि खुसी हुने भए नै । मिक्लाजुङ्गले कृषि तथा पशुपालनबाट विपन्न नागरिकलाई आत्मनिर्भर बनाउन बंगुरका पाठा, बाख्राका पाठा वितरण गर्दै आएको छ । यसले गर्दा दैनिक गुजाराका लागि घर खर्च जोहो गर्न र छोराछोरीलाई पढाउन सहज भएको स्थानीय पवित्रादेवी मगर सुनाउँछिन् ।

 

पालिकाका नागरिकलाई सरकारी सेवातर्फ आकर्षित गर्न मिक्लाजुङ्गले निःशुल्क लोकसेवा तयारी कक्षासमेत सञ्चालन गरिरहेको छ । सहरमा गएर लोकसेवाको कक्षा लिँदा हजारौँ खर्च हुने भए पनि गाउँमै यो सुविधा भएपछि सहज भएको वडा नम्बर ७ की स्थानीय दुर्गा भट्टराईको अनुभव छ ।


मिक्लाजुङ्गले स्थानीयका लागि छोटो अवधिका सीपमूलक तालिम निरन्तर रूपमा सञ्चालन गरिरहेको छ । गरिबी निवारणका लागि लक्षित वर्गलाई वडा वडामा आवश्यक पर्ने तालिम तथा कार्यक्रम सञ्चालन गरिँदै आएको गाउँपालिका उपाध्यक्ष सरला राईले जानकारी दिइन् ।

 

जनप्रतिनिधिले लक्षित वर्गका लागि निर्वाचित भएको पहिलो वर्षदेखि नै गरिबी निवारण, महिला सशक्तीकरण, विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रमका लागि बजेट विनियोजन गरेको पाइन्छ । पालिकाले सञ्चालन गरेका कार्यक्रमबाट सर्वसाधारण लाभान्वित बनिरहेका छन् । यसले गर्दा उनीहरू विभिन्न समूह निर्माण गरी सामूहिक सहकार्य गर्न एकजुट मात्रै भएका छैनन्, एकअर्काका सुखदुःखका साथी बन्न र हातेमालो गर्न पनि सक्षम भएका छन् ।