close

नगरबासीको जीवनस्तर उकास्दै महालक्ष्मी

नगरबासीको जीवनस्तर उकास्दै महालक्ष्मी

Trulli
ADVERTISEMENT

धनकुटा– स्थानीय सरकारले विकास आयोजनाको प्राथमिकीकरण र विशेष महत्वका योजनालाई वर्गीकरण गरी नगर गौरवका आयोजना घोषणा गर्ने क्रम बढ्दो छ । आवधिक विकास योजनाका लक्ष्य हासिल गर्ने उद्देश्यले सञ्चालित विकास आयोजना तथा कार्यक्रमको प्राथमिकता तोकिने गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाले पूर्वाधार निर्माण गरेर पर्यटन र नागरिकको जीवनस्तर उकास्ने किसिमका योजनालाई अघि बढाएर नगरको गौरव बढाएको छ । 

 

तत्कालीन ६ वटा गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा ६ मुखे रुद्राक्षको दाना भएको स्तम्भ राखिएको छ । ८ लाखको लागतमा निर्माण गरिएको यो स्तम्भ अहिले बजारको सौन्दर्य मात्र नभई पर्यटकको आकर्षण केन्द्र बनेको छ । पछिल्लो समय आयआर्जनको माध्यम बनिरहँदा नगरपालिकाले निर्माण गरेको यो स्तम्भले नगरको गौरव मात्र नभई रुद्राक्षको व्यावसायिक खेतीलाई प्रोत्साहनसमेत गरिरहेको छ । स्थानीय तहले नगरको गौरवलाई सडक र पूर्वाधार निर्माणसँग जोडिरहँदा महालक्ष्मीले भने सडक र पर्यटनसँग जोडेको पाइन्छ । नगरको सबैभन्दा महत्वपूर्ण योजना भने महालक्ष्मी चक्रपथ हो । जीतपुर बजार प्रवेशका लागि चारैतिरबाट सडक विस्तारको कामलाई तीव्रता दिइएको छ । नगरपालिकाले ठूला सडक १४ मिटर, मध्यम खाले १० मिटर र ट्रयाक खोलेका सडकको ६ मिटर चौडाइ कायम गरी सडक विस्तारलाई तीव्रता दिँदै आएको महालक्ष्मीका नगरप्रमुख परशुराम नेपाल बताउँछन् ।

 

जितपुर बजारदेखि लेगुवासम्मको १३ किलोमिटर सडक नगर गौरवको आयोजना हो । यो फराकिलो सडक एसियाली विकास बैंकको सहयोगमा कालोपत्रे हँुदै छ । चौडा सडक कालोपत्रे भएपछि जितपुरदेखि लेगुवा बजारसम्मको यात्रा अझ सहज हुनेछ । जितपुरबाट लेगुवा जाने बाटोमै साढे तीन करोडको लागतमा वनझाँक्री पार्क निर्माण गरिएको छ । किंवदन्ती र पुरातत्वको आधारमा पर्यटन विकास गर्न यो पार्क निर्माण गरिएको हो । नगर गौरवको रूपमा रहेको यो पार्कले आन्तरिक पर्यटन बढाएको वडा नम्बर ६ का वडाध्यक्ष डम्बुरबहादुर कार्कीको भनाइ छ ।

 

जितपुर बजारको शिरमा करिब डेढ करोडको लागतमा महालक्ष्मीको मन्दिर र लाटीभन्ज्याङमा पोखरीसहित नागेश्वरको मूर्ति स्थापना गरिएको छ । महालक्ष्मीकै रामबजारमा रामको स्मारक बनाएर नगरको गौरव बढाउने काम भएको छ । कालेपोखरी पार्कलाई पनि नगर गौरवको आयोजनामा राखिएको छ । सिदुवाबाट वसन्तपुर जाने सडकमा पर्ने कालेपोखरीलाई नगरले सुन्दर बनाउने काम गरेको छ  । यहाँ आउने पर्यटकका लागि सुविधायुक्त होटल व्यवस्था गरिएको छ । पोखरीमा पर्यटकलाई रमाइलो गराउन डुंगा पनि सञ्चालन गरिएको वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।


समृद्ध नगर निर्माण गर्नु नै हाम्रो लक्ष्य हो । नागरिकले परिवर्तनको महसुस र आर्थिक उपार्जन वृद्धि हुने किसिमका योजना नै हाम्रो आवश्यकता हो । 

 

चक्रपथ निर्माण गरेर सबै वडालाई मुख्य बजारसँग जोड्ने र पर्यटकीय गन्तव्यलाई टेवा पुग्ने गरी महालक्ष्मीले निर्माण गरेको पूर्वाधारले साँच्चै नगरको गौरव बोकेको छ । सरकारको १५औँ राष्ट्रिय योजनामा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमलाई अघि बढाउने नीतिलाई नगरले आत्मसात् गरेको प्रस्ट छ ।