close

श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माण गरौं : राष्ट्रपति भण्डारी 

श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माण गरौं : राष्ट्रपति भण्डारी 

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् । 


अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले उक्त अपेक्षा गरेकी हुन्  ।


राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरिन्  ।


शुभकामना सन्देशमा भनिएको छ, “यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।”


विश्वभरिका श्रमिकहरूले एकापसमा ऐक्यबद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।


जनताको आकाङ्क्षाबमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको र त्यसका लागि कृषि, वन, पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्रको विकास गर्दै रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौँ युवा जनशक्तिका लागि समेत स्वदेशमै अवसरको सिर्जना गर्नुपर्ने उल्लेख छ ।


'आप्रवासी श्रमिकको मानवअधिकार रक्षा गर्न सम्बद्ध निकाय र क्षेत्रहरूले निरन्तर पहल जारी राख्नु पर्दछ', शुभकामना सन्देशमा भनिएको छ, 'उद्यमशीलता विकासका लागि पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको प्रयास रहनु अत्यन्त आवश्यक छ ।'