close

सूचना नदिने नगरपालिका प्रमुखलाई १० हजार जरिवाना

सूचना नदिने नगरपालिका प्रमुखलाई १० हजार जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार रुपैयाँ  जरिवाना  गरेको हो।

राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले यो फैसला गरेको हो । राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकको संख्या, प्रतिव्यक्ति खर्च, क्वारेन्टाइनमा बस्ने व्यक्तिले ओढ्ने कम्बलको मूल्यलगायतबारे प्रमाणित प्रतिलिपि मागेका थिए।

सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए।

पुनरावेदन दर्तापछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीबारे सजग गराएको साथै चेतावनी दिँदासमेत ठाकुरले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले कार्यालय प्रमुख ठाकुरलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको जानकारी दिए।