close

गृहको निर्देशन : फुटपाथ व्यापारलाई निरुत्साहित गर्नेदेखि क्षमताभन्दा बढी यात्रु चढ्न नपाउनेसम्म

गृहको निर्देशन : फुटपाथ व्यापारलाई निरुत्साहित गर्नेदेखि क्षमताभन्दा बढी यात्रु चढ्न नपाउनेसम्म

Trulli
ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले सुरक्षित र सभ्य यातायातका लागि सडक पूर्वाधार र सवारी साधन व्यवस्थापन गर्न सरोकारवाला निकायलाई पत्राचार गरेको छ । 

मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्नका लागि बिहीबार साँझ परिपत्र गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले पालिका खबरलाई बताए । 

मुख्यगरी कमजोर कमजोर पूर्वाधार, सवारी मर्मतको अभाव, न्यूनतम पूर्वाधारको कमी र यात्रुहरूमा चेतनाको कमीजस्ता समस्यालाई न्यूनीकरणका लागि उक्त योजना ल्याइएको गृह मन्त्रालयले जनाएको छ । 

योजना अनुसार प्रदूषण फैलाउने पुराना सवारी साधनलाई विस्थापन गर्ने, गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने, दैनिक सडकको सरसफाइ गर्ने, यान्त्रिक कुचोको व्यवस्था गर्नुपर्ने छ । 

त्यस्तै, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा यात्रु राख्न रोक लगाउने, साइकलको लागि छुट्टै लेनको व्यवस्थापन गर्नुपर्ने, अपाङ्गतामैत्री, बालबालिकामैत्री सडक सञ्जाल विस्तार गर्नुपर्ने उल्लेख छ । त्यस्तै, खाल्डाखुल्डी नियमित पुर्नुपर्ने, सडक पूर्वाधारको मर्मत कार्य समयमै गर्नुपर्ने, ट्राफिक लाइट तथा सडक चिह्नको उचित व्यवस्थापन तथा नियमित मर्मतसम्भार गर्नुपर्ने छ ।

सडक छेउमा निर्माण सामग्री थुपार्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने, मादकपदार्थ सेवन जाँच कडाइका साथ गर्नुपर्ने, फुटपाथमा व्यापार गर्ने, अन्य पूर्वाधार विकास गर्ने, सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गर्ने घटना दिनानुदिन बढिरहेको हुँदा हाल कायम रहेको जरिवानालाई वृद्धि गर्नुपर्ने योजना समेत रहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई बिहीबार पत्राचार गरेको प्रवक्ता पोखरेलले बताए ।