close

साँगुरीगढी गाउँपालिकाका २८ घर परिवारले ४८ वर्षपछि पाए लालपुर्जा

साँगुरीगढी गाउँपालिकाका २८ घर परिवारले ४८ वर्षपछि पाए लालपुर्जा

Trulli
ADVERTISEMENT

धनकुटा । साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ४८ वर्षपछि लालपुर्जा पाएका छन् । वि.स. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट बन्चित थिए ।

४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि २८ परिवार निकै खुसी भएका छन्। पिता पुर्खाका पालादेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात परेको साँगुरीगढी गाउँपालिका-५ तुंखाका छत्र याखाले बताए ।

उनले आफू जन्मनुभन्दा पहिले नै नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरुले नै उपभोग गर्दै आएको जग्गा आफ्नो स्वामित्वमा आउँदा खुसीको सिमा नै नरहेको बताए ।

विगतमा आफ्ना नाममा जग्गा नहुँदा स्थानीयलाई समस्या हुने गरेको थियो। नापी कार्यालयद्वारा डाँडाबजारमा लालपुर्जा वितरण गरिएको हो । पहिले नै जमिनको स्वामित्व जग्गाधनीको नाममा हुनुपर्नेमा बल्ल आफ्नो नाममा हात पर्दा निकै खुसी लागेको अर्का स्थानीय बलि कुमार याखाले बताए ।

आफू ५२ वर्षको हुँदा बल्ल धनीपुर्जा पाएको उनले बताए । बसोबास गरिरहेको तर, के हुने हो भन्ने अन्यौल रहेकोमा अहिले लालपुर्जा पाउँदा ढुक्क भएको उनले बताए ।

लालपुर्जा वितरणसँगै स्थानीयले सम्पत्तिसम्बन्धी अधिकार प्राप्त गरेका छन् । २०२१ सालदेखि जग्गा हदबन्दी कायम गरिएसँगै नापजाँच कार्य सुरु गरिएको र २०३२ सालमा नापनक्सा सुरु गरिए पनि सिंगो बस्तीलाई नै गाउँ ब्लकको क्षेत्र कायम गरिँदा लालपुर्जा नपाएर स्थानीयलाई समस्या भएको थियो ।

लालपुर्जा विहीन भएको पाइएपछि २०७७ देखि पुनः नाप नक्सा गरेर गाउँ ब्लकको नाममा सीमित जग्गा व्यक्तिगत रुपमा बनाइएको नापी कार्यालयका प्रमुख मिथिलेश यादवले बताए ।

यादवले गाउँ ब्लक भनेर लेखिएको जग्गालाई पुन नाप नक्सा गरि पुर्जा वितरण गर्ने भनेर नापी विभागबाट निर्देशन भएपछि लालपुर्जा वितरण गरिएको जानकारी दिए। धनकुटा जिल्लामा २ वटा गाउँपालिकामा गाउँ ब्लकको रुपमा रहेको यादवले बताए ।

उनले साँगुरीगढी गाउँपालिका र चौविसे गाउँपालिकामा गाउँ ब्लकको जग्गा रहेको बताए । यादवका अनुसार साँगुरीगढीको लालपुर्जा वितरण सकिएको र चौबिसे गाउँपालिकाको मुढेबासको पनि नाप नक्सा सकिएर पुर्जा तयारी रहेका छन् । उनले चौबिसे गाउँपालिकाको मुढेवासमा ५५ घरपरिवार रहेको जनाए । उनीहरूलाई पनि लालपुर्जा वितरणको तयारी भइरहेको नापी कार्यालय धनकुटाले जनाएको छ ।

साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा भएको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सम्पत्तिको अधिकार प्राप्त गरेकोमा सबैलाई बधाई दिइन् । उनले सरकार नागरिकको अधिकारका लागि प्रतिबद्ध रहेको पनि बताइन् ।