close

हिमा गाउँपालिकाले हरेक वर्ष ५० हजार बिरुवा रोप्ने

हिमा गाउँपालिकाले हरेक वर्ष ५० हजार बिरुवा रोप्ने

Trulli
ADVERTISEMENT

जुम्ला । हिमा गाउँपालिकाका जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा साढे दुई लाख विरुवा रोप्ने योजना बनाएका छन् । 

दोस्रो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि जनप्रतिनिधिले पहिलो वर्षको नीति तथा कार्यक्रममा सडक र नदी हरियाली बनाउने योजनालाई प्राथमिकतामा राख्दै बिरुवा रोप्ने योजना अघि बढाएका हुन् । कर्णाली राजमार्गअन्तर्गत मुगुको राराताल जाने नाग्म गमगढी सडक हिमा नदीको तीरैतीर पर्छ । 

पाँच वर्षे कार्यकालमा यही सडक र नदीलाई हरियाली बनाउने योजना बनाएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने कार्यकालको पहिलो वर्ष यो योजना सफल पार्न पालिकाले हरेक वर्ष ५० हजार बिरुवा रोप्ने योजना बनाएको छ ।

आफ्नो योजनाअनुसार बिरुवा रोपिरहेको गाउँपालिका अध्यक्ष शाहीले बताए । हेर्दा सामान्य लाग्ने यो योजनाले हिमालाई कर्णालीकै सुन्दर पालिका बनाएरै छोड्छौं,’ उनले भने,’ हरेक वर्ष ५० हजार बिरुवा रोप्ने योजना अनुसार यतिबेला काम भइरहेको छ।’

उनका अनुसार देश संघीयतामा आएपछि स्थानीय तहको विकास निर्माणका काममा प्रयोग  गरेका डोजरले उजाडिएको पाखा पखेरा वातावरणीय प्रभाव मूल्यांकन नगरी कुरुप भएका छन् । त्यसमाथि बाढी, पहिरोले जोखिम बढाउदै गएको छ ।

उनले भने,'यहाँका हिमा, पातारासी, तिला र तातोपानी गाउँपालिका बाढी पहिरो र भू–क्षयको उच्च जोखिममा पर्छन् । जलवायु परिवर्तनले पानीका मुहान सुक्दै गएका छन् । अन्नबाली उत्पादन घट्दै गएको छ । तर, वातावरण संरक्षणमा स्थानीय सरकारको प्रथामिकता छैन् ।'

यस्तै समस्यालाई मध्यनजर गर्दै हिमाले बिरुवा रोपेर सडक र नदीलाई हरियाली बनाउने योजना बनाएको हो । यो योजनाले नदी र सडक मात्रै नभएर नाङ्गा डाँडापाखा समेत हराभरा बनाउने अभियान रहेको अध्यक्ष शाहीले बताए ।

पञ्चवर्षीय योजनाअन्तर्गत हिमालाई हरियाली र जलवायु अनुकूल पालिका बनाउने अभियान अन्तरर्गत हरेक वर्षको साउन महिनाभरि वृक्षरोपण अघि बढाइने छ ।

जलवायु अनुकूलन, बाढी पहिरो, भूक्षय नियन्त्रण, वातावरण संरक्षण गर्ने उद्देश्यका साथ पाँच वर्षमा साढे दुई लाख बिरुवा रोपिनेछ । सल्लो, देवद्यार, किमु, ओखर, पिपल र बैंसका बिरुवाहरू रोपिएका गाउँपालिकाले जनाएको छ । 

भू–तथा जलाधार व्यवस्थापन कार्यालयका जुम्लाका प्रमुख शेखर चापागईले प्राकृतिकजन्य विपद् रोक्न तथा वातावरण संरक्षणका लागि हिमाले गरेको वृक्षरोपण कार्य प्रसंशनीय रहेको बताए ।