close

मुस्ताङमा पड्किएको बम खम्पा विद्रोहको हुनसक्ने

मुस्ताङमा पड्किएको बम खम्पा विद्रोहको हुनसक्ने

Trulli
ADVERTISEMENT

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ प्याङस्थित एकओढारमा शंकास्पद वस्तु पड्किएर ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ । 

गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङका अनुसार जिम्बु खोज्ने क्रममा मंगरबार ओढार पुगेका ४ जनाले शंकास्पद वस्तु देखेर खोल्ने क्रममा अचानक पड्किएर सबैजना घाइते भएका थिए । 

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार रेश रोक्कामगर, टिका बुढामगर, तेजेन्द्र रोकामगर र  दीलिप रोकामगर घाइते भएका हुन् । उनीहरूमध्ये दीलिप र तेजेन्द्रलाई थप उपचारका लागि पोखरा पठाइएको हो । 

उक्त भेटिएको शंकास्पद बस्तुबारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । 'यो प्रहरीले अनुसन्धान गरिसकेपछि सबै थाहा हुन्छ तर खम्पा विद्रोह कै बम पड्किएको हाम्रो अनुमान छ ।' उनका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा त्यस क्षेत्रमा माओवादीको उपस्थिति शून्यस्तै थियो । त्यसैले उक्त विस्फोटक पदार्थ खम्पा बिद्रोह बेलाको हुनसक्ने स्थानीयको अनुमान छ । यसबारे प्रहरीले अनुसन्धान सकेपछि मात्र थाहा हुने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । उनका अनुसार २०३०/३१ सालतिर लुकाइएको बुस्तु पड्किएको हुनसक्छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक राजकुमार दानीका अनुसार बेवारिसे अवस्थामा ग्रिनेट र बम फेला परेका छन् । सदरमुकामदेखि टाढा हुनुका साथै विकट तथा जंगलको क्षेत्र भएकाले अझै डिस्पोजल गरिसकिएको छैन । डिस्पोजलका लागि नेपाली सेना र प्रहरीको टोली अहिले घटनास्थलमा गइरहेका उनले पालिका खबरलाई बताए । 

के हो खम्पा विद्रोह ?

खम्पा विद्रोह चीनले तिब्बतको सार्भभौमिकता लिइसकेपछि स्वतन्त्र तिब्बतका लागि नेपाली भूमिबाट भएको सशस्त्र विद्रोह हो । तिब्बतको खाम क्षेत्रका मुल बासिन्दालाई उनीहरूको भाषामा खम्पा भनिन्छ ।  विसं २०२० को दशकको बेला चिनियाँ फौजसँग लड्न तालिम र सेल्टरका लागि खम्पाहरू अवैध रूपमा मनाङ आएका थिए । 

उनीहरूले नेपाली भूमि प्रयोग गरी तिब्बती खम्पाहरूले चिनियाँ सेनाविरूद्ध युद्ध गरे । उनीहरूले विभिन्न जिल्लाहरूमा तालिम लिएपछि लड्न मुस्ताङ पुग्थे । 

त्यसबेला नार-फू उपत्यका र भ्राताङ गाउँ क्षेत्र उनीहरूको नियन्त्रणमा थियो। उनीहरूले भ्राताङ, च्याकु, झुनाम, क्याङ र मु्रँचलाई आफ्नै बस्तीका रूपमा विकास गरेका थिए । खम्पाहरूले खेर गएको भिरालो जमिनलाई बारी र गह्राका रूपमा विकास गरेर खेतिपाती पनि गर्थे । 

नेपालको मुस्ताङ जिल्ला आधार बनाएर गुप्त रूपमा अभ्याससमेत गर्न थालेपछि चीन र अन्तेराष्ट्रिय समुदायको अनुरोधमा नेपाली सेना खम्पाहरूको पोष्ट मुस्ताङमा हमला गरे । कसैले आत्मसमर्पण गरे । उनीहरूलाई नेपालको नागरिकता समेत दिई निस्चित क्षेत्रमा जमिन दिइएको थियो ।

केही खम्पाहरू मुस्ताङ छाडेर आफ्नो फौजसहित उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुँदै भागेका थिए । नेपालको मुस्ताङ क्षेत्रमा विसं २०२०देखि २०३२ सालसम्म आधार बनाएर युद्ध गरेका थिए । उनीहरूले प्रयोग गर्ने केही बङ्कर अझै पनि बाँकी रहेको छ ।