close

नदी तटीय क्षेत्रमा बास : निद्रा न भोक, त्रासैत्रास

नदी तटीय क्षेत्रमा बास : निद्रा न भोक, त्रासैत्रास

Trulli
ADVERTISEMENT

टीकापुर । गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित पानी पर्न थालेपछि त्रासमा छन् । नदीमा पानीको बहाव बढेपछि रातिको समयमा निदाउन सकेका छैनन् ।

टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेकी छैनन् । उनलाई दिनहुँ पानी पर्न थालेपछि त्रासले सताएको छ । सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् ।

‘मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ । नदीको पानी कतिखेर बस्तीमा पस्छ भन्ने त्रास कायम छ’, उनले भनिन्, ‘पानी परेको रात कहिल्यै निदाउँन सक्दैनौं ।’ बाढीले गत वर्ष प्रतिपुरका बलबहादुर चौधरीको ४ बिघा धान खेत बगायो । बर्सेनि समस्या झेल्नुपरेकाले सरकारले बाढीबाट नागरिक बचाउन प्रयास नगरेको उनको गुनासो छ ।

‘नदीमा पानीको बहाव बढी भएमा बस्तीमा पस्छ । तटबन्ध पनि भत्किँदै गएको छ’, चौधरी भन्छन्, ‘हाम्रो सुरक्षाबारे सरकारले ध्यान दिनुपर्छ । हामी धन, सम्पत्ति जोगाउनेभन्दा पनि ज्यान जोगाउने चिन्तामा हुन्छौँ ।’ मीनादेवी चौधरीको पनि गत वर्ष १८ कठ्ठा धान बगेको थियो । मीनादेवीलाई पनि वर्षा हुनेबित्तिकै भोक निन्द्रा लाग्दैन ।

‘एकातिर मेहेनत गरेर लगाएको खेती डुबान र कटान हुने जोखिम छ । अर्कातर्फ बाढीमा बगिन्छ कि भन्ने त्रास छ’, मीनादेवी भन्छिन्, ‘हरेक वर्ष उही नियती भोग्नुपरेको छ ।’ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी नागरिकका विभिन्न समस्या रहेका बताउँदै सरकारले बाढीसँग जोडेर जीविकोपार्जनका कार्य गर्नुपर्ने आवश्यकता रहेको बताउछन् ।

स्थानीय सरकार, संघसंस्था र विपद् व्यवस्थापन समितिले विभिन्न प्रयास गरिरहेको उनले बताए । ‘हामीले स्थानीयस्तरमा नागरिक कसरी जोगाउने, कसरी अत्यावश्यक कागजात जोगाउने भनी समुदायलाई तालिम दिएका छौँ । कसरी खोज तथा उद्धारमा खट्ने भनी युवालाई तयारी राखेका छौँ’, रेग्मी भन्छन्, ‘कतिखेर बस्ती छाड्नुपर्छ, टुंगो छैन ।

उच्च स्थानमा घरहरु तयारी अवस्थामा राखेका छौँ ।’ विपद्बाट बच्न पूर्वतयारीसँगै तीनै तहका सरकार मिलेर नागरिक सुरक्षित बस्न पाउने वातावरण बनाउनुपर्ने स्थानीयको माग छ । टीकापुर नगरपालिकाले गत वर्ष पूर्ण क्षति भएको वडा नं ८ मा खोज तथा उद्धार तालिम गरेको छ ।

विभिन्न सङ्घसंस्थाको सहयोगमा समुदायलाई विपद्को सामाना कसरी गर्ने भनी तालिम दिएको हो । खोज तथा उद्धार तालिममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मकरूपमा विपद्को समयमा कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गराइएको थियो । साथै तालिमका सहभागीले स्थानीय स्रोतबाट ढुङ्गा, लाइफ ज्याकेट निर्माण गरेका थिए ।

२०७८ कात्तिक २ गतेको वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित भएको यस क्षेत्रमा जोखिम घटेको छैन ।कर्णाली नदीले बर्सेनि धार परिवर्तन गर्दा थप जोखिम बढेको बताइन्छ । नदी किनारका मसानघाट, जमरा कुलाको मुहान, शिवशक्ति, सामुदायिक वनको क्षेत्र, रानीकुलो मुहान क्षेत्र, भुराखानी सामुदायिक वनको क्षेत्र, टीकापुर पार्क र वनगाउँ, सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायतका स्थान जोखिममा छन् ।

जोखिममा रहेका यी क्षेत्रमा तटबन्ध बन्न बाँकी र पहिले बनेका तटबन्ध भत्किरहेका छन् । कर्णाली नदीमा तटबन्ध भत्किएका कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका डुबान तथा कटानको जोखिममा पर्ने स्थानीय बताउँछन् ।