close

सहारा बन्दै वृद्धाश्रम

सहारा बन्दै वृद्धाश्रम

Trulli
ADVERTISEMENT

काठमाडौं । तल सेवार खोला बगिरहेको छ । खोलाकोमाथि डिलमा ठूलो गेट छ । मूल गेटमा लेखिएको छ, ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपदाकुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रम । मूल गेटबाटभित्र पसेपछि शान्त र आनन्ददायी वातावरणमा पुगेझैँ लाग्छ । थरिथरिका फलफूलका बिरुवा र देवदेवीका मन्दिर देखिन्छन् । 

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेको वृद्धाश्रममा अहिले १८ वृद्धवृद्धा छन् । नौ महिला र नौ  पुरुष । उनीहरूको लालनपालन, रेखदेख, स्याहारसुसार र स्वास्थ्य उपचारको व्यवस्था वृद्धाश्रमले गरिरहेको छ । वृद्धाश्रममा बस्ने अधिकांश परिवारविहीन र सहाराविहीन छन् । 

प्यूठानको खलङ्गा घर भएकी ७९ वर्षीया दिलकुमारी क्षेत्री १० वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छन् । 

अहिले उनको शरीर कमजोर भएको छ । श्रीमान‍् हुँदासम्म कुनै कुराको समस्या थिएन । श्रीमान‍्को कमाइबाट घर चलेको थियो । श्रीमान‍्को मृत्युपछि पनि उनलाई पेन्सन आउँछ । घर खर्चलाई पैसा छ । तर, शरीरमा भएको तागत घट्दै गयो । घरको आँगन बिरानो हुन थाल्यो । 

एक्लो भएपछि गाउँलेको सहायताबाट वृद्धाश्रममा आएको उनको भनाइ छ । ‘यहाँ आफ्नै उमेरका साथी भेटिएका छन् । कुराकानी गर्ने, मन भुलाउने बाटो भएकाले खुसी छु,’ उनी भन्छिन् । 


घोराही उपमहानगरपालिका–१३ कलमघारीका ७४ वर्षीय श्रीधर सुनार पनि सोही आश्रममा एक वर्षदेखि बस्दै आएका छन् ।

खुट्टाको समस्याले उनी बैशाखीको सहाराले भित्र बाहिर गर्छन् । उनका आँखामा मोतीबिन्दु भएको थियो । गएको असार चार गते शल्यक्रिया गरेर आँखाले देख्न सक्ने भएको उनको भनाइ छ । उनी भन्छन्, ‘छोराछोरी छैनन् । श्रीमतीको मृत्यु भयो । काम गर्न सक्ने हुँदासम्म घरमा एक्लै गाईबाख्रा पालेर बसियो ।’   घरमा भएका गाईवस्तु पनि बिक्री गरे । सानो झुपडी घर थियो । त्यो गाउँलेलाई हेरेक दिन आग्रह गरेर आश्रय लिन आएको उनले बताए । 

उनका अनुसार, घरको याद गरेर मन दुखाउनुभन्दा वृद्धाश्रमका दाजुभाइसँग भलाकुसारी गरेर दिन बिताउन सजिलो भएको छ ।

रोल्पाको जुरमसिना घर भएकी ७५ वर्षीया रामकली क्षेत्री पनि सोही वृद्धाश्रममा बस्छिन् । पाँच छोराछोरी जन्मेका थिए तर पखाला लागेर चारजना मरे । एक छोरी मात्र बाँचिन् । श्रीमान‍्को मृत्यु भयो । भन्छिन्, ‘धनसम्पत्ति खासै थिएन । दुःखसुख गरेर छोरी हुर्काएँ । ठूली भएपछि रोल्पाकै गाउँमा बिहे गरिदिएँ ।’ अहिले छोरीले सोधखोज नगरेको उनको भनाइ छ । 

‘भन्छन् नि, बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भनेझैँ भयो,’ आँखाभरिका आँसु पुछ्दै रामकली भन्छिन्, ‘अहिलेसम्म ठूलो रोग केही लागेको छैन । कहिलेकाहीँ ग्यास्ट्रिकले सताउँछ ।’ तैपनि उहाँलाई आश्रमको बसाइँ राम्रो भएको छ । भन्नुहुन्छ, ‘आफूजस्तै दिदीबहिनीसँग कुराकानी गर्न पाइएको छ । शान्त वातावरणमा बस्ने व्यवस्था छ । मन भुलेको छ ।’ 

ज्येष्ठ नागरिक सरोकार केन्द्रका सचिव हीरा शाहका अनुसार ६० जना दाताको सहयोगमा अक्षय कोष स्थापना भएको छ । दाताले पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म दिएको शाह बताउँछन् । 

शाह भन्नुहुन्छ, ‘ प्यूठान, रोल्पा र सल्यानबाट सहाराविहीन ज्येष्ठ नागरिक आउनुभएको छ । जुम्लाबाट पनि एक जना पुरुष आउनुभएको थियो । २०७८ चैत महिनामा बित्नुभयो ।’

घोराही उपमहानगरपालिका– १५ का मधुसुदन र मोनिका जोशीले पितामाता कोमानन्द र गिराको स्मृतिमा एक लाख एघार हजार एक सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेको केन्द्रका कोषाध्यक्ष श्यामप्रकाश आचार्यले जानकारी दिए । सम्बन्धित वडा कार्यालयको सिफारिसमा आश्रममा राख्ने गरेको शाह बताउँछन् । 

भन्छन्, ‘पहिलो प्राथिमकता असहायलाई दिने गरेका छौँ ।’ घोराहीका समाजसेवी खगराज लोहनीले तीन बिघा जमिन दान गरेर ज्येष्ठ नागरिक सरोकार केन्द्र स्थापना गरेका छन् । 

केन्द्रको कार्यसमिति अध्यक्ष भूपाल गिरी आश्रममा वृद्धवृद्धाको सेवाका लागि पाँच जना कर्मचारी राखिएको बताउँछन् ।  वृद्धवृद्धाको खानपानमा मासिक ५० हजार खर्च भइरहेको छ । आफ्नै तीन बिघा जमिनबाट आउने अन्नपात र दाताको सहयोगबाट आश्रम चलिरहेको छ । केन्द्रमा ६० वर्ष उमेर पुगेका असहाय तथा परिवारविहीन ज्येष्ठ नागरिकलाई प्रक्रिया पुर्‍याएर आश्रममा आश्रय दिने गरिएको छ ।

घोराही उपमहानगरपालिकाले आश्रममा दैनिक स्वास्थ्यकर्मी  पठाउने गरेको छ । सबै औषधि निःशुल्क दिने व्यवस्था पनि गरेको बताइएको छ । ‘जतिसुकै सुखसुविधा भए पनि जिन्दगी केही होइन रहेछ । जे आफूसँग छ, त्यसैमा सन्तोष हुनुपर्ने रहेछ । विलासिताभन्दा आवश्यकतामा जानुपर्ने रहेछ,’ उनी भन्छन् । 

उपमहानगरपालिकाले आश्रम सञ्चालनमा सहयोग गर्दै आएको पालिकाको महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोतीकुमारी विश्वकर्मा बताउँछन् ।  उनका अनुसार, स्वास्थ्य शाखाले स्वास्थ्यमा सहयोग गरेको छ भने महिला, बालबालिका तथा सामाजिक विकास शाखाले न्यानो कपडा वितरण तथा खाद्यान्नमा सहयोग गर्दै आएको छ ।

पछिल्लो समयका मानिस एकल परिवारमा रमाउने संस्कारको विकासले वृद्धवृद्धा हेलामा पर्ने गरेको विश्वकर्माको भनाइ छ । दाङमा हाल घोराहीको तेरौटे, देउखुरीको सुनडवरी र तुलसीपुर गरी तीन स्थानमा वृद्धाश्रम खोलिएका छन् । रासस