close

तनहुँमा चितुवा आतङ्क : बरण्डाबाटै बच्चा तान्न थाल्यो

तनहुँमा चितुवा आतङ्क : बरण्डाबाटै बच्चा तान्न थाल्यो

Trulli
ADVERTISEMENT

तनहुँ । जिल्लामा विगत पाँच वर्षदेखि देखिएको मानव वन्यजन्तुबीचको द्वन्द्व कारण ठूलो जनधनसँगै ३४ चितुवा पनि मारिएको छ। अनेकन प्रयास भए पनि चितुवा आतङ्क रोकिन सकेको छैन।

चितुवा आतङ्क रोकिनुको सट्टा झन बढ्न थालेको छ। घरघरमै चितुवा आएर विशेष गरी बालबालिकालाई आक्रमण गर्न थालेको छ। आइतबार राति करिब साढे १२ बजे घरको बरन्डामा सुतिरहेका आमा छोरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।

तनहुँको व्यास नगरपालिका –११ राम्चे स्थित पातीघारीमा घरको बरन्डामा सुतिरहेका आमाछोरालाई चितुवाले आक्रमण गरेको हो। आमाको काखमा सुतिरहेको ९ वर्षीय छोरालाई चितुवाले टाउकोमा पञ्जाले हिर्काएर घाइते बनाएको ४९ वर्षीय आमा दिलमाया गुरुङले बताइन् । 

यस्तै, गत बुधबार भदौ ८ गते साँझ करिब साढे ५ बजेतिर घरको आँगनमा खेल्दै गरेका बन्दिपुर गाउँपालिका–१ उपल्लोफाँटका ३ वर्षीय बालक सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

आमा घरभित्र खाना बनाउँदै गरेकी र छोरा घरको पीढी र आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरी जङ्गलतर्फ लगेको थियो। तत्काल आमाले थाहा पाएपछि हारगुहार गर्दै खेदेपछि चितुवाले बालक छोडेर भागेको थियो।

चितुवाले घरको आँगनबाट करिब ५० मिटर माथि जङ्गल तर्फ पुर्‍याएको छोरालाई २६ वर्षीय आमा लक्ष्मी परियारले ढुंगामुढा गरेर खोसिन् । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालकको स्वास्थ्य स्थितिमा अहिले सुधार आएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको बताए । 
उपचारमा संलग्न चिकित्सकका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो। देब्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ ।

यता बन्दिपुर गाउँपालिका –१ बडीस्वाँरामा गत जेठ ३१ गते मंगलबार दिउँसो करिब पौने ५ बजेको समयमा चितुवाले आँगनमै खेल्दै गरेका एक बालकलाई आक्रमण गरी प्रेम बगाले मगरका ४ वर्षीय छोरा सुप्रिमलाई चितुवाले आक्रमण गरी ज्यान लियो।

बन्दिपुरको वडा नम्बर १ र ४ क्षेत्रमा चितुवा आतङ्क बढेको छ। चितुवाकै आक्रमणबाट स्थानीय ८ वर्षीया रियाना थापा घाइते भइन्। सो घटनाको ६ घण्टा बित्न नपाउँदै घरको पीढीमा सुतिरहेका ३५ वर्षीय भीमलाल गरञ्जालाई चितुवाले आक्रमण गरी घाइते बनायो।

तनहुँमा केही समय रोकिएको चितुवा आतङ्क पुन: बढेपछि त्रास बढेको बन्दिपुर–१ का सुकबहादुर सुमे मगर बताउछन् । । तीन वर्ष अगाडि छिमेकी भानु नगरपालिकाका बासिन्दा साँझ नपर्दै घरको झ्यालढोका लगाएर बसेको स्मरण गर्दै सुकबहादुरले भने, ‘तीन दिनभित्र चितुवाले तीन वटा घटना गराइसक्यो। चितुवाले यसरी नै आतङ्क मच्चाउन थाल्यो भने हामी पनि साँझ नपर्दै घरमा थुनिएर बस्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन।’

तनहुँमा पहिलो पटक २०७४ फागुन १ गते भानु नगरपालिका –३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो। 

करिव पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट जिल्लामा १२ जना बालबालिकाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्। जिल्लाको भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतङ्क बढि थियो। यस क्षेत्रमा केही कम भएपनि अहिले आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतङ्क देखिन थालेको छ।

चितुवाको आक्रमणबाट २०७४ यता भानुमा ६, आँबुखैरेनीमा १, बन्दिपुरमा ३ र शुक्लागण्डकीमा २ गरी १२ जना बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। १९ वटा चितुवा सुरक्षित नियन्त्रणमा लिई स्थानान्तरण गरिएको छ।

मानव र वन्यजन्तु बीचको द्वन्द्व रोक्नका लागि डिभिजन वन कार्यालय तनहुँ र सम्बन्धित पालिकाको समन्वयमा विभिन्न कामहरू भए पनि प्रभावकारी बन्न सकेका छैनन्। कार्यालयले चितुवा प्रभावित क्षेत्रका सामुदायिक वन लगायतका क्षेत्रमा फलाम तथा परम्परागत काठको खोरमा पासो थापेर चितुवा नियन्त्रणमा लिई  स्थानान्तरण गर्ने, वन्यजन्तुलाई वनमै भुलाउन खानेपानीको श्रोत संरक्षण, पोखरी निर्माण फलफूलका बिरुवा रोपन लगायतका कार्य पनि गरेको छ। तर, चितुवा आतङ्क भने नियन्त्रणमा आउन नसकेको डिभिजन वन अधिकृत कोमलराज काफ्ले बताउँछन् । 

जिल्लामा पुन: चितुवा आतङ्क देखिन थालेपछि स्थानीयबासीलाई बालबालिका एक्लै नछोड्न, घरवरीपरीका झाडी सरसफाई गर्न र वन जंगलमा घाँसदाउरा गर्न जाँदा समूहमा जान अनुरोध गर्दै आएको प्रमुख काफ्लेले बताए । 

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, बनकुखुरा आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिका माथि आक्रमण गर्न थालेको डिभिजन वन अधिकृत काफ्ले बताउँछन् ।