close

नयाँ बस्ती  अपायक भयो, हामी बस्दैनौँ : मुसहर

नयाँ बस्ती  अपायक भयो, हामी बस्दैनौँ : मुसहर

Trulli
ADVERTISEMENT

इटहरी । इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका  छन्  ।  उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि मुसहर बस्ती प्रयोगहीन बनेका हुन् । 

इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस समृद्धि कार्यक्रम र इटहरी उपमहानगरकाद्वारा संयुक्त रुपमा ती घर  एक करोड २३ लाखको लागतमा तयार पारिएका थिए । 

अहिले मुस बस्तीमा जान मानेका छैनन् ।  स्थानीय सरकारले छलफल नै नगरी काम गर्ने कम्पनीदेखि टाढा बस्ती बनाएकाले उनीहरू नयाँ घरमा बस्न जान नमानेका बताइएको छ  ।

स्थानीय सुमति ऋषिदेवले बाउबाजे यही जन्मेर यही मृत्यु भएको जनाउँदै पुर्ख्यौली थलो नछाड्ने बताए । उनले भने, ‘घर निर्माण गर्नुअघि सल्लाह पनि गरेनन्, आफूहरु लामो समयदेखि बस्दै आएको ठाउँ छाड्न नसक्ने, अहिले बसेकै ठाउँमा व्यवस्थित गर्नुपर्छ ।’

निर्माण गरिए पनि आफ्नो दैनिक छाक टार्न काम गर्न  कम्पनीसम्म पुग्न यो बस्ती टाढा भएको  उनले बताए ।  निर्माण बस्तीबाट इटहरी बजार आउन साइकलमा ४५ देखि एक घण्टा लाग्ने र बालबालिकालाई विद्यालय पठाउन समस्या हुने उनले बताए । 

नयाँ घरबाट टाढा र अपायक भएकाले पनि नयाँ घरमा जान नमानेको उनले बताए । ‘बरु सडकले ओगट्ने क्षेत्रबाट बचेको जग्गामा छाप्रो हालेर बस्ने, तर सरकारले बनाएको नयाँ घरमा जाँदैनौँ,’ उनले बताए । 

‘हामीलाई स्थानीय सरकारले नयाँ घरमा बस्न आग्रह गर्ने गरेको छ । तर सरकारले बनाएको घरबाट काममा जानका लागि ४५ देखि एक घण्टा लाग्छ, सरकारले साइकल दिन्छु भनेको त छ तर साइकलले राति महिलालाई घर जान समस्या पर्छ, कहिले साइकल बिग्रिन्छ । हामी यहाँबाट जाँदैनौँ ।’

केही समयअघि मुसहर समुदायलाई  काम गर्ने महिला, पुरुषलाई उपमहानगरले साइकलसमेत वितरण गर्ने योजनासमेत बनाएको थियो, तर त्यो योजनासमेत सफल हुन सकेन ।

बस्तीमा खानेपानी, शौचालय, चिल्ड्रेनपार्क, सामुदायिक भवन र दिनाभद्रीको मन्दिरसमेत निर्माण गरिएको छ । करोडौँ खर्च गरेर निर्माण गरेको संरचनामा मुसहर समुदाय नै बस्न नमानेपछि स्थानीय सरकारको बहुवर्षे सडकसमेत अन्योलमा परेको छ । सडक किनारामा बसेका मुसहरलाई नयाँ बस्तीमा सार्ने योजना फेल भएपछि सडक विस्तार कसरी गर्ने र ती संरचनालाई कसरी व्यवस्थित गर्ने भन्ने उपमहानगरपालिका अलमलमा छ ।

मुसहर बस्तीको परिवार बस्न नमानेपछि गत वर्ष निवर्तमान इटहरी उपमहानगरगपालिका–१६ का अध्यक्ष दीपनारायण चौधरीका संयोजकत्वमा तीन सदस्यीय टोलीसमेत बनाएको थियो ।

उक्त टोलीले तयार गरेको प्रतिवेदनका आधारमा इटहरीभित्रका अतिविपन्न तथा लक्षित समुदायका परिवारलाई राख्ने तयारी भएको इटहरी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले बताए । उनले भने, ‘लाखौँ खर्च गरेर तयार गरेको घरको अब गरिब विपन्नलाई बडाको सिफारिसमा राख्ने तयारी छौँ ।’ यो प्रक्रिया केही महिनाबाट नै सुरु गर्ने योजनामा उपमहानगर रहेको जनाइएको छ ।