close

पुल बनेपछि फेरियो हतुवागढी र आमचोक क्षेत्रका बासिन्दाको दिनचर्या

पुल बनेपछि फेरियो हतुवागढी र आमचोक क्षेत्रका बासिन्दाको दिनचर्या

Trulli
ADVERTISEMENT

काठमाडौं ।  केही वर्षअघिसम्म भोजपुरको हतुवागढी र आमचोक क्षेत्रमा पैदल यात्रा गर्नुपर्थ्यो । 

भौगोलिक विकट मानिने यस क्षेत्रमा मानिस डोको तक्मा बोकेर सामान ओसारपसार गर्थे । भरिया र खच्चरलाई प्रमुख ढुवानीको विकल्पका रुपमा लिइन्थ्यो । तर, पछिल्लो पाँच वर्षयता भने दक्षिणी क्षेत्र सडक सञ्जालले धमाधम जोडिन थाले । यस क्षेत्रको स्वरुप नै जीवनचर्या नै फेरियो । 

दुईपाङ्ग्रे हुँदै ठूला यात्रु र मालबाहक सवारी चल्न थाले । सडक सञ्जालसँगै ठूला खोलामा मोटर चल्ने पुल बन्न थाले । केही पक्की पुल बन्ने क्रममा छन् ।

जसले निकट भविष्यमा दक्षिणी क्षेत्रसँगै सिङ्गो जिल्ला र खोटाङ, धनकुटा, उदयपुर जिल्लाका बासिन्दासमेत लाभान्वित हुनेछन् । सडकसँगै बनेका पक्की पुलले समग्र जिल्लाकै विकासमा ठूलो फड्को मारेको छ ।

प्लाष्टिकको बोतलमा पानी बोकेर बास बस्दै सदरमुकाम धाएको स्मरण गर्दै सञ्जीव कार्कीले भने, ‘कुनै समय खोलाबाट पानी बोकेर पैदल दक्षिणी क्षेत्रबाट धाउनुपर्ने त्यो कष्टकर क्षण सम्झिदा कहानीजस्तो लाग्छ, अहिले जताततै सडक सञ्जाल जोडिए, सडकसँगै तर्न नसकिने ठूला खोलामा बनेका पक्की पुलले दक्षिणी क्षेत्रको समृद्धि र विकास ल्याएको छ,’ उनले भने, ‘अझै त्यस क्षेत्रका सडक कालोपत्र हुनसकेमा कति सहज हुन्छ हुन्छ ।’

समाजसेवी नवीन प्रधानले पक्की पुलको विकासले समग्र क्षेत्रको विकास र सुविधामा टेवा मिलेको बताए । ‘अहिले पनि कच्ची बाटोबाट तराई पुग्न घण्टौँ लाग्छ, निर्माणाधीन मोटरेबल पुलहरुले यो सास्ती हट्नेछ ।’ सडक र पुलको पहुँचले जिल्लाको आर्थिक, सामाजिक विकासँगै यातायात व्यवसायीलाई समेत राहत मिलेको छ । दक्षिणी क्षेत्रलाई तराईसँग जोड्ने दूधकोसी नदीको मोटरेबल पुलको निर्माण कामले यहाँका नागरिक उत्साहित छन् । 

हतुवागढी , आमचोक र रामप्रसाद राई गाउँपालिका क्षेत्रका केही ठूला पुलको काम चलिरहेको छ । पुलको विकासले उत्पादित सामग्रीका बजारीकरणसँगै स्थानीयवासीको शिक्षा, स्वास्थ्य, रोजगार जस्ता महत्वपूर्ण पक्षमा सहयोग पुग्ने हतुवाढी गाउँपालिका रानीबासका शम्भु राईले बताए । 

उनले भने, ‘विकासको प्रशस्त सम्भावना रहे पनि पक्की पुलको अभावले ओझेलमा परेको छ, तर निर्माणाधीन पुलले स्थानीय बासिन्दामा आशा जगाएको छ ।’

जिल्लाभित्र सञ्चालित त्यस्ता पुल निर्माणले विकास र समृद्धिमा धेरै ठूलो टेवा पुग्ने स्थानीय सरोकारवाला घमचन्द्र दाहालको बुझाइ छ । ‘जिल्लाभित्र बनेका र बन्दै गरेका पुलले त्यहाँका जनतासँगै सिङ्गो भोजपुरवासीको मुहार बदलिनेछ, नागरिकलाई प्रत्यक्ष लाभ मिल्नेछ,’ उनले भने ।