close

स्वास्थ्य क्षेत्रमा प्रथम बन्यो मध्यनेपाल नगरपालिका

स्वास्थ्य क्षेत्रमा प्रथम बन्यो मध्यनेपाल नगरपालिका

Trulli
ADVERTISEMENT

लमजुङ । मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी दिए । 

आर्थिक वर्ष २०७८/७९ को प्रदेश स्तरीय वार्षिक समीक्षा बागलुङ बजारमा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७.४ अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको उक्त मन्त्रालयले जनाएको छ । 

यस्तै पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयुँले ८६.२  र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर  दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले बताए । 

समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाहरूको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयका स्वास्थ्यकर्मी सहभागी थिए । कार्यक्रममा दोस्रो स्थान हासिल गर्ने पर्वत जिल्लाको पैयुँ गाउँपालिकालाई सम्मान गरिएको थियो । सुत्केरीसँग सन्चो बिसन्चो कार्यक्रमबाट चर्चित बनेको पालिकाले कोरोनाको जोखिमीमा समेत उल्लेख्य भूमिका निर्वाह गरेको थियो ।

स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका ८५ पालिकमध्ये दोस्रो स्थानमा आउदा खुसी लागेको बताउँदै उक्त गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले आगमी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर बताए ।