close

जब उपप्रमुख मासु पसलहरुमा पुगिन्...

जब उपप्रमुख मासु पसलहरुमा पुगिन्...

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । 

चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो । 

बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा बधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो । 

अखाद्य मासु बिक्री

अनुगमनका क्रममा तीन वटा पसलमा अखाद्य मासु बिक्री गरेको पाइएको छ भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको उपप्रमुख अर्यालले बताइन् । अखाद्य मासु भेटिएकालाई उपमहानगरपालिकामा बोलाइएको छ भने अन्यलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको उनले जानकारी दिइन् । 

बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देवीनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरिएको छ । यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु फेला पारी नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले बताए । बधशाला तथा मासु पसल सफा राख्न निर्देशन दिइएको उनले बताए । 

सडक क्षेत्रमा बधशाला

देवीनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा बधशाला बनाएको पाइएको छ भने तिनकुनेमा रहेको निमेस मासु पसलको बधशाला निकै फोहर पाइएको छ ।

यस्तै इँटाभट्टीको माइला मासु पसल, ज्योति माइला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजनफ्रेस हाउसमा अनुगमन गरी पसल सफा र व्यवस्थित बनाउन सचेत गराइएको छ ।

अनुगमनका क्रममा उपप्रमुख अर्यालले चाडपर्वका समयमा मासुको प्रयोग बढी हुने भएकाले स्वच्छ र स्वस्थ्य मासुको बिक्रीवितरण हुनुपर्ने बताइन् । मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि त्योअनुसार सञ्चालन नभएका कारण व्यवसायीलाई उपमहानगरपालिका कार्यालयमा बोलाइएको पशु चिकित्सक झवीन्द्र बञ्जाडेले बताए । 

अनुगमनमा उपप्रमुख अर्यालसहित उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, उपभोक्ताहित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति थियो ।