close

बागलुङ नगरपालिकाको स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा

बागलुङ नगरपालिकाको स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा छ ।

भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको हो । 

विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरो जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ ।

माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।

बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताए ।

उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए । “बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ”, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । 

“यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो”, थापाले भने, “पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।”

भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त  भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् ।