close

सडकमा बस्न बाध्य भजनी बाढीपीडित, चासो दिन सम्बन्धित निकायसँग अनुरोध

सडकमा बस्न बाध्य भजनी बाढीपीडित, चासो दिन सम्बन्धित निकायसँग अनुरोध

Trulli
ADVERTISEMENT

धनगढी । भजनी नगरपालिका वडा नम्बर ८ की पार्वती विक सोनाफाटास्थित हुलाकी सडकमा त्रिपालमा बसेकी छिन् । भदौ ३१ रातिदेखि असोज १ गतेसम्म परेको अविरल वर्षाले घरभित्र पानी पसेपछि उनी सडकमा त्रिपाल लगाएर बसेकी हुन् ।

यो वर्षमात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ । सडकको किनारामा बनाइएका पालभित्रै बसेकी पार्वतीले भनिन्, ‘हरेक वर्ष घरभित्र पानी पस्छ । अनि यही सडकमा बास हुन्छ ।’

घरभित्र रहेको अन्नपात र खेतको धान पनि सबै बाढीले पुरेको उनको भनाइ छ । उनले भनिन्, ‘अचानक आएको बाढीले गहुँ, धान, सबै सम्पत्ति सत्यनास भइहाल्यो । अब वर्षभरि केले गुजारा चलाउने होला ।’

हुलाकी सडकमै त्रिपालमा छोराछोरीसहित बसेकी छन् मिना चौधरी । उनको घर बाढीले क्षतविक्षत् बनाएको छ । काठका खाट, लत्ताकपडा, भाँडाकुडासम्म बचेका छन् । ‘खानपिनको निकै समस्या छ,’ उनले भनिन्, ‘तीन दिनसम्म चाउचाउ चिउरा खाएर बसेकी छु । सरकारका प्रतिनिधिहरू कोही पनि आएनन्।’

भजनी नगरपालिकाले मंगलबार बिहानदेखि बाढीपीडितलाई खान समस्या भएको भन्दै नजिकै सामूहिक भान्सा घर सञ्चालन गरेको छ । उनले भनिन्, ‘सामूहिक भान्सा घर सञ्चालन भएपछि तीन दिनपश्चात फेटभरि खाना खान पाइयो ।’

भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका मानसिंह चौधरी मंगलबार सडकको बासबाट घर फर्केका छन् । पानीको सतह घटेपछि घर पुगेका उनी घरमा पुगेको क्षतिले चिन्तित थिए ।

‘भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले डुबायो,’ उनले भने, ‘खेतको धानमा पनि क्षति पुग्यो । सरकारले अब खानलाई रासनको व्यवस्था गर्नुपर्छ ।’

भजनी नगरपालिकामा पानीको सतह घट्दै गएपछि विस्थापितहरू धमाधम घर फर्कने क्रम जारी छ। तर, घरभित्र राखिएको अन्नपात बगाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता उनीहरूको छ । यस वर्ष भजनी नगरपालिका सबै वडा प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सात हजार ७६ घरहरू प्रभावित भएकोमा तीन हजार ३२ परिवारहरू विस्थापित भएका छन् ।

दिगो समाधान खोजियोस् : बाढीपीडित

भजनी नगरपालिका वडा नम्बर ९ की सिर्जना बमको घरमा नदी पसेपछि सामुदायिक वनभित्र खुला आकाशमा बसेकी छन् । हरेक वर्ष नदीले निम्त्याउने बाढीबाट हैरानी खेप्दै आएकी उनले भनिन्, ‘सरकारले दिगो समाधानको योजना ल्याउनुपर्छ । यस वर्ष पानीको सतह बढी हुँदा यहाँका सबै घर डुबानमा परे । या त सरकारले उच्च घरको व्यवस्था गर्नुपर्छ, नत्र सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ ।

उनले बस्ती बचाउने योजना ल्याउन सरकारसँग माग गरिन् । तत्कालका लागि जैविक तटबन्धन योजना ल्याएर र दिगो रुपमा बस्ती संरक्षण गर्न ‘¥याम्प ड्याम’को कार्यक्रम अघि बढाउन उनले सुझाव दिइन् ।

भजनी नगरपालिकाको कान्द्रा, मोहना र पथरैया नदीका कारण बस्ती जोखिममा पर्दै आएका छन् । योसँगै काँडा नदीले पनि सो बस्तीमा असर गर्ने गरेको स्थानीय वीरबहादुर चौधरीले बता ए। उनले कटान रोक्न राज्यबाट कुनै पनि पहल नभएको गुनासो गरे ।

क्षतिको तथ्यांक संकलन गरिने

भजनी नगरपालिकाले बाढीले पुर्‍याएको क्षतिको तथ्यांक संकलन गर्ने भएको छ । बाढीका कारण खाद्यान्न, धानबाली, पशुपन्छीलगायतको सम्पूर्ण क्षतिको यकिन तथ्यांक संकलन गरी प्रशासन कार्यालयमा बुझाउने जनाएको छ ।

तथ्यांक संकलनका लागि वडाध्यक्षको नेतृत्वमा सम्बन्धित वडाका बडघर, भलमन्सा, राजनीतिक दलको सहभागिता गराइने नगरपालिकाले निर्णय गरेको नगर प्रमुख केवल चौधरीले बताए ।

उनले भने, ‘बाढीले सबै वडा प्रभावित भएका छन् । मानवियसँगै घरमा रहेका खाद्यान्न, खेतका धान बाली, घरमा क्षति पुर्‍याएको छ। के कति क्षति भएको छ यकिन गरी सम्बन्धित निकायमा उपलब्ध गराइनेछ ।’ उनले बाढीबाट प्रभावितहरूलाई उचित राहत सम्बन्धित निकायले दिनुपर्ने बताए ।