close

कैलालीका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना

कैलालीका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना

Trulli
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू भएको छ । कैलालीमा मात्रै ट्राफिक प्रहरीले ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । बसपार्क लगायतका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी लागू गरिएको कार्ययोजनामा काडाइ गरिएको प्रहरीको दाबी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले भने, ‘९ स्थानमा सहायता कक्ष स्थापना गरेका छौँ। सवारीको यान्त्रिक जाँच पनि हुने गरेको छ । दुर्घटना न्यूनीकरणमा हामीले विशेष ध्यान दिएका छौं ।’

चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ । विशेषगरी मजदुरी गर्न भारत गएकाहरु घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो । भने, देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरु जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ। यात्रुको संख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ ।

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादकपदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको हो । दुर्घटना न्यूनिकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले बताए ।

‘सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । सहायता कक्ष स्थापना भएका छन् । सवारी जाँच हुन्छ । मापसे गर्ने चालकलाई कारबाही भइरहेको छ। लामो दुरीमा दुई चालकको व्यवस्था अनिवार्य छ । टाइम कार्ड पनि लागु गरेका छौं’ उनले भने । अहिले ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँचसमेत गर्ने गरेको छ ।

चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्न लागेको हो । ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरको सहकार्यमा यान्त्रिक अवस्था जाँच भइरहेको छ ।

यात्रुसँग एक मिनेट कार्यक्रम लागू गरेको ट्राफिकले बेला बेला मापसेसमेत चेक गर्ने गरेको छ । लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ गरेको दाबी प्रहरी उपरीक्षक धितालको छ ।