close

छाडा चौपाया व्यवस्थापनका लागि कबाड संकलन

छाडा चौपाया व्यवस्थापनका लागि कबाड संकलन

Trulli
ADVERTISEMENT

कञ्चनपुर । विकराल समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकामा कबाड सङ्कलन कार्य थालिएको छ । 

लोक कल्याणकारी सेवा ट्रष्टले भीमदत्त नगरपालिकामा गौ–सेवा अक्षयकोष स्थापना गर्न कबाड सङ्कलन गरिरहेको छ । अक्षयकोष स्थापना गर्न घरमा काम नलाग्ने सामान सङ्कलन गर्ने कार्य भइरहेको ट्रष्टका संरक्षक परमाध्यक्ष हरिशरण महाराजले बताए ।

“गौ–सेवा अक्षयकोष स्थापना गर्नका लागि घर, पसलमा खेर गएका, टुटेफुटेका भाडाकुँडा, प्लास्टिक बोतल, कागज सङ्कलन गरिरहेका छौँ”, उनले भने, “हामी गाडी लगेर आफैँ घर घर पुग्दैछौँ, त्यहाँबाट कबाड सङ्कलन गरेर बिक्री गर्छौं ।”

फोहरबाट मोहर बनाएर छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिने उनले बताए । “यहाँ चौपायाको समस्या विकराल छ, गौशाला बनाएर चौपायालाई राखिन्छ तर खानाका लागि प्रबन्ध हुँदैन”, उनले भने, “अक्षयकोष तयार भएपछि चौपाया चारोको प्रबन्ध गर्छौं, चौपाया व्यवस्थापन गरिन्छ ।”

ट्रष्टले अक्षयकोष स्थापनाका लागि दानपेटिका बनाएर स्वेच्छिक दान पनि सङ्कलन गरिरहेको छ । “विद्यालयमा गएर पुराना कापी किताब नफालेर हामीलाई दिन विद्यार्थीहरुसँग अभियान भइरहेको छ”, उनले भने, “दान पेटिका बनाएकाले नागरिकले आफूले सक्दो दान गरिरहेका छन् ।”

अक्षयकोष स्थापना पश्चात् सडकमा रहेका चौपायालाई गौशालामा गरिने उनले बताए । ट्रष्टले चार/पाँच वर्षअघि सडक-सडकमा महायज्ञ आयोजना गरेर भीमदत्त–९ ब्रह्मदेवमा चौपाया राख्नका लागि गौशाला निर्माण गरेको थियो । अहिले त्यहाँ एक सय ३० चौपायालाई संरक्षण गरिएको छ ।

अक्षयकोष स्थापनाका लागि केही दिनमा कैलालीको धनगढीमा पनि कबाड सङ्कलन सुरु गरिने ट्रष्टले जनाएको छ ।

“धनगढीमा समिति बनेको छ, केही दिनपछि कबाड सङ्कलन गर्ने काम अगाडि बढ्छ”, ट्रष्टका संरक्षक महाराजले भने, “अक्षयकोष स्थापनाका लागि देशविदेशबाट सहयोग पाइरहेका छौँ ।”