close

घरेलु कार्यालयको नाम परिवर्तनसँगै काम थपियो

घरेलु कार्यालयको नाम परिवर्तनसँगै काम थपियो

Trulli
ADVERTISEMENT

स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका–१ मा अवस्थित घरेलु तथा साना उद्योग कार्यालयको नाम परिवर्तन गरिएको छ । कार्यालयको नाम परिवर्तन भएसँगै कार्यालयबाट प्रदान गरिने सेवा, कार्य विवरण पनि थप भएको छ ।

साविकमा ‘घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा’ रहेकामा कात्तिक १ गतेदेखि यस कार्यालयको नाम परिवर्तन गरी ‘पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा’ राखिएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ भदौ २० को बैठकको निर्णयानुसार स्वीकृत यस कार्यालयको नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनबमोजिम २०७९ कात्तिक १ गतेदेखि लागू हुने गरी नाम परिवर्तन र कार्य विवरण थप भएको कार्यालय प्रमुख श्रीप्रकाश रेग्मीले जानकारी दिए ।

साविकको कार्य विवरणमा थप भएको नयाँ कार्य विवरणअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाइड, र्‍याफ्टिङलगायत साहसिक पर्यटन आदिको प्रवद्र्धन, दर्ता अनुमति नवीकरण र नियमन गर्ने उनले बताए ।

पोखरामा रहेको पर्यटन कार्यालय खारेज भएसँगै उक्त कार्यालयबाट प्रदान गरिँदै आएका सेवा कात्तिक १ गतेदेखि गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित साविकका घरेलु तथा साना उद्योग कार्यालय तथा हालको पर्यटन तथा उद्योग कार्यालयबाट हुने भएका हुन् ।