close

तिहारमा फुल र माला पाउनै मुस्किल

तिहारमा फुल र माला पाउनै मुस्किल

Trulli
ADVERTISEMENT

कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । 

टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । ‘घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो’, उनले भने, ‘डेढ विघाहमा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्किए ।’

४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन् । तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका व्यापारीहरुले बताउँछन् । 

जानकी गाउँपालिका ४ कि समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आइन् । मखमली फुलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्किन् । ‘मखमली फुलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भए, यहाँ त सकिएका रहेछन्’, उनले भनिन्, ‘फुलका माला नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु । के गर्नु प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।’ टीकापुर ३ कि रमिता विकले पनि बजारमा माला पाइनन् । उनी पनि माला किन्न बजारसम्म पुगेकी थिइन् । ‘माला नपाएपछि गाउँमै फुल खोज्न थालेकी छु’, उनले भनिन्, ‘विगतमा गाउँमा फालाफाल फुल हुन्थे, घरघरमा फुल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फुल पाउन कठिन छ ।’

कैलालीमा फुल खेतीका लागि जग्गा अभाव छैन । हरेक नागरिकका घरमा २÷४ कठ्ठा जमीनमा छन् । एक कठ्ठा जग्गा नभएका निकै कम छन् । यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फुल रोप्दैनन् । घरमै फुल रोपेको भए आज फुल र माला अभाव नहुने जेष्ठ नागरिक धौली न्यौपानेले बताइन् । ‘हाम्रा पालामा घर वरिपरि फुलैफुल हुन्थे, कहिल्यै माला, फुल खोज्न, किन्न परेन’, उनले भनिन्, ‘हामी फुलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फुल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।’

तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घर आँगन रंगाउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फुल प्रयोग गरिन्छ । बजारमा माला र फुल अभाव भएपछि प्लाष्टिकका मालाको व्यापार पनि राम्रो भएको छ । व्यापारी शिव चौधरीले फुलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका माला किन्न आएका बताए । 

संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिनाले हरेक मानिसले घरघरमै फुलबारी बनाउन आवश्यक रहेको बताइन् । ‘घरमा थोरै भए पनि फुलबारी चाहिन्छ, फुलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्’, उनले भनिन्, ‘घरघरमै २/४ बोट फुल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फुल किन्ने हामी नेपालीको बानी अनौँठो छ । यहाँको फुल सकिएपछि भारतबाट आएको फुल बिक्री भएको छ ।’