close

वस्ती पातलो भएपछि फेेदीखाेलामा कम विवाद

वस्ती पातलो भएपछि फेेदीखाेलामा कम विवाद

Trulli
ADVERTISEMENT

स्याङ्जा - फेदीखोला गाउँपालिकाको न्यायिक समितिमा हालसम्म १७ वटा मात्रै मुद्दा दर्ता भएका छन् । गाउँपालिकामा दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधि आएसँगै १७ वटा मात्रै मुद्दा दर्ता भएका हुन् ।

गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक देउखुरी गुरुङका अनुसार पालिकामा वस्ती पातलो भएकाले थोरै मात्रै मुद्दा दर्ता भएको हो । स-सानो विवाद स्थानीय बासिन्दाकै रहोबरमा समाधान गर्ने भएकाले पनि कम मुद्दा गरेको उनले पालिकाखबरलाई बताइन् ।

उनका अनुसार पालिकाभित्र हुने विवादलाई स्थानीय छिमेकी, वडा कार्यालयको मेलमिलाप केन्द्र हुँदै न्यायिक समितिमा दर्ता हुने गर्दछ । विवादको अन्तिम छिनोफानोे गर्ने क्षेत्र नै न्यायिक समिति भएकाले कम मुद्दा आउने गरेको उनले सुनाइन् । 

मुद्दा दर्ता कम भएकाले आवश्यकता अनुसार मात्रै न्यायिक समितिको बैठक बस्ने उनको भनाइ छ । ‘हामीले न्यायिक समितिको लागि दिन छुट्याएका छैनौँ, उनले भनिन्, ’मुद्दा कम मात्रै दर्ता हुने भएकाले आवश्यकता अनुसार मात्रै समितिको बैठक बस्छौँ ।’ 

समितिमा कम मुद्दा दर्ता भएता पनि कानूनी ज्ञान भएको कर्मचारी नभएकोले काम गर्न समस्या भएको उनले सुनाइन् । कर्मचारी नभएकाले प्रशासनिक कर्मचारीको सहयोग लिने गरेको उनले भनाइ छ । गाउँपालिकासँग आन्तरिक स्रोत नभएकाले कर्मचारीको समेत व्यवस्थापन हुन नसकेको उनको गुनासो छ । 

न्यायिक समितिमा घरेलु हिंसा र जग्गा विवादको मुद्दा धेरै दर्ता हुने उनको भनाइ छ ।