close

दिदीबहिनी नभएका दाजुभाइलाई पोखरा महानगरद्वारा सामूहिक भाइटीका

दिदीबहिनी नभएका दाजुभाइलाई पोखरा महानगरद्वारा सामूहिक भाइटीका

Trulli
ADVERTISEMENT

कास्की- तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ ।

पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो । पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका अधिकृत लोकदर्शन कोइरालाले दिए । 

पोखराकै लब्धप्रतिष्ठित दिदीबहिनीको हातबाट आफ्ना दिदीबहिनी नभएका दाजुभाइ तथा घर टाढा भएर वा व्यस्तताका कारण आफ्नो घर जान नसक्ने दाजुभाइहरु सामूहिक भाइटीकामा सहभागी हुन सक्ने संयोजक कोइरालाले बताए । 

भाइटीकाका दिन बिहान १०:५१ देखि दिउँसो २ बजेसम्म सामूहिक भाइटीका कार्यक्रम रहने कोइरालाले बताए । सामूहिक भाइटीकामा हालसम्म ४० जना दाजुभाइले नाम टिपाइसक्नुभएको छ, संयोजक कोइरालाले भने, “पोखरा महानगरपालिकाले पहिलोपटक यसरी सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको हो ।”

एउटा पौराणिक कथाअनुसार परापूर्वकालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित छ । यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छाअनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए ।